• १४ माघ २०८२, बुधबार

अबको रूपान्तरण हरित अर्थतन्त्रमा

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, माघ १४ गते । सरोकारवालाले नेपालको अर्थतन्त्रलाई योजनाबद्ध र क्रमिक रूपमा हरित अर्थतन्त्रमा रूपान्तरण गर्नुपर्ने बताएका छन् । वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रले मङ्गलबार राजधानीमा आयोजना गरेको स्वच्छ ऊर्जाको कार्यान्वयनबाट हरित अर्थतन्त्रको विकास विषयक राष्ट्रिय सम्मेलनमा सहभागी विज्ञ तथा सरोकारवालाले स्वच्छ ऊर्जा प्रवर्धनमार्फत जलवायु परिवर्तनको बढ्दो जोखिम न्यूनीकरण, न्यून कार्बनीकरण र हरित अर्थतन्त्र प्रवर्धनलाई सम्भाव्य बनाउनुपर्नेमा जोड दिएका हुन् ।

कार्यक्रमका प्रमुख अतिथि ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री अनिलकुमार सिन्हाले सरकारले अख्तियार गरेको शून्य कार्बन उत्सर्जनको लक्ष्य, दिगो विकासका लक्ष्य, ऊर्जा विकासका मार्गचित्र जस्ता दीर्घकालीन योजनागत लक्ष्य प्राप्तिका लागि प्रभावकारी कार्यान्वयनमा लैजानुपर्ने उल्लेख गर्नुभयो । 

ऊर्जा विकासका रूपमा नेपालमा जलविद्युत्लाई मात्र सोच्न नहुने भन्दै उहाँले सौर्य, वायु जस्ता स्वच्छ ऊर्जाका अवयवको हिस्सा पनि बलियो बनाउनुपर्ने आवश्यकता औँल्याउनुभयो । उहाँले रूपान्तरण र प्रगतिका लागि नेपालको कतिपय कानुनी प्रावधान प्रवर्धनात्मक हुनुपर्नेमा नियन्त्रणमुखी हुँदा लक्ष्यप्राप्तिमा समस्या सिर्जना हुने गरेको औँल्याउनुभयो । “हामीकहाँ नियम कानुन कार्यविधि जस्ता चिजले काम गर्न चाहने निजी क्षेत्रलाई प्रवर्धनभन्दा पनि रोक्ने खालका छन्, त्यसले लक्ष्यप्राप्तिमा समस्या पार्ने गरेको छ,” उहाँले भन्नुभयो, “तर आगामी पुस्तालाई सुरक्षित र विकसित विश्व हस्तान्तरण गर्ने दायित्व हाम्रै हो । यसमा संवेदनशील भएर सुधार गर्दै जानु पर्छ ।” 

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रकाशकुमार श्रेष्ठले परम्परागत तथा खनिज इन्धनको खपत न्यूनीकरणका लागि स्वच्छ ऊर्जा उत्पादन तथा खपत विस्तारलाई बढाउँदै लैजानुपर्ने बताउनुभयो । उहाँले नेपालका विभिन्न योजनामा हरित अर्थतन्त्र निर्माणसम्बन्धी कार्ययोजनाको लक्ष्य रहँदै आए पनि कार्यान्वयन पक्ष कमजोर देखिँदै आएकाले त्यसमा व्यापक सुधार आवश्यक रहेको औँल्याउनुभयो ।  स्वच्छ ऊर्जाको तीव्र विकासका लागि अहिले वित्तीय क्षेत्रमा उपलब्ध रकम परिचालन गर्न ऐतिहासिक सहज अवसर रहेको भन्दै निजी क्षेत्रलाई अग्रसर हुन उहाँले आग्रह गर्नुभयो । 

ऊर्जा मन्त्रालयका सचिव चिरञ्जीवी चटौतले जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न खनिज इन्धनको प्रयोग घटाउँदै स्वच्छ, किफायती र भरपर्दाे ऊर्जाको विकासमा विशेष जोड दिइएको बताउनुभयो । उहाँले कार्बन उत्सर्जन न्यूनीकरणमा स्वच्छ ऊर्जाको भूमिका नै प्रधान रहने र नेपालमा स्वच्छ ऊर्जाको सम्भाव्यता उच्च रहेकाले त्यसलाई उपलब्धिमा रूपान्तरण गर्न राष्ट्रिय अन्तर्राष्ट्रिय सहकार्य आवश्यक रहेको औँल्याउनुभएको थियो ।

वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रका कार्यकारी निर्देशक नवराज ढकालले केन्द्रले हालसम्म स्वच्छ ऊर्जाका क्षेत्रमा केन्द्रमार्फत भइरहेका गतिविधि र उपलब्धिबारे जानकारी गराउनुभएको थियो । उहाँले कार्बन न्यूनीकरणका क्षेत्रमा यातायात, उद्योग, कृषि र घरायसी क्षेत्रलक्षित विद्युतीय सवारी चार्जिङ स्टेसन, बायोमास र बायोग्यास प्रवर्धन, सौर्य सिँचाइ पम्प तथा विद्युतीय चुलो विस्तार जस्ता कार्यक्रम प्रभावकारी रूपमा अघि बढिरहेको बताउनुभएको थियो । 

अन्तर्राष्ट्रिय स्वच्छ ऊर्जा दिवसको अवसर पारेर केन्द्रले उक्त सम्मेलन आयोजना गरेको हो । सम्मेलनमा स्वच्छ ऊर्जा र कार्बन व्यापार, ऊर्जा दक्षतामार्फत न्यून कार्बनीकरण तथा स्वच्छ ऊर्जा र इमोबिलिटीका लागि वित्तीय लगानीका विषयमा छुट्टाछुट्टै प्राविधिक सत्र पनि सञ्चालन भएका थिए ।