• १४ माघ २०८२, बुधबार

सम्भव परियोजना अघि बढाउन निर्देशन

blog

अनुगमन तथा सहजीकरण समितिको १२ औँ बैठकलाई सम्बोधन गर्नुहुँदै अर्थमन्त्री रामेश्वर खनाल । तस्बिर : अर्थमन्त्रीको सचिवालय

गोरखापत्र समाचारदाता

काठमाडौँ, माघ १४ गते । अर्थमन्त्री रामेश्वर खनालले लगानी बोर्डमा प्रस्ताव भई आएका सम्भव भएसम्मका सबै परियोजनालाई अगाडि बढाउन निर्देशन दिनुभएको छ । बोर्डको उपाध्यक्षसमेत रहनुभएका मन्त्री खनालले मङ्गलबार सार्वजनिक तथा निजी साझेदारी तथा लगानी ऐेन, २०७५ अनुसारको अनुगमन तथा सहजीकरण समितिको १२ औँ बैठकमा सार्वजनिक निजी साझेदारी मोडेलका त्यस्ता परियोजना अगाडि बढाउन निर्देशन दिनुभएको हो ।  

बैठकमा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली अहिले बोर्डमा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल, रासायनिक मल कारखाना, जलाशययुक्त जलविद्युत् परियोजना, एग्रो भोल्टेक परियोजना, ग्रिन हाइड्रोजन, पोडवेलगायतका प्रस्ताव प्राप्त भएको जानकारी दिनुभयो ।  

लगानी बोर्डका सहसचिव हेमराज तामाङले लगानी बोर्डबाट हालसम्म १७ खर्ब १६ अर्ब रुपियाँ बराबरका ५५ वटा परियोजना स्वीकृत भएको जानकारी गराउनुभएको थियो । बैठकले वन, जग्गा, मूल्य समायोजन, प्रसारण लाइन, मुअब्जा, स्थानीय तहसँगको समन्वयलगायतका विषयमा देखिएका समस्या समाधान गर्न सम्बन्धित निकायमा आवश्यक सहजीकरणका लागि सिफारिस गर्ने निर्णय गरेको छ ।