• १४ माघ २०८२, बुधबार

रावल देशकै उत्कृष्ट मौरीपालक

blog

मौरीपालक नरजित रावल मौरीपालनबारे समाचार छापिएको गोरखापत्र हेरेर आफूले पुरस्कार पाएको मौरीको घारलाई पूजापाठ गर्नुहुँदै । तस्बिर : शेरबहादुर सार्की

बाजुरा समाचारदाता

बाजुरा, माघ १४ गते । बाजुराको हिमाली गाउँपालिका–६, पाँडीका ८१ वर्षीय नरजित रावल देशकै उत्कृष्ट मौरीपालकका रूपमा सम्मानित हुनुभएको छ । किशोरावस्थादेखि गाउँमा मौरीपालन गर्दै आउनुभएका रावललाई गोदावरी कालिज फार्म तथा मौरीपालन स्रोत केन्द्र ललितपुरले मौरीको घारसहित सम्मानित गरेको हो । 

गत मङ्सिरमा केन्द्रले सातै वटा प्रदेशका तीन जना मौरीपालकलाई छनोट गरी तालिममा बोलाएको थियो । दुर्गम जिल्लाको विकट ठाउँमा जीवनभर स्थानीय जातको मौरी पाल्दै आएका रावलले अरूले भन्दा राम्रो मौरीपालन गरेकाले नगद र मौरीको घारसमेतले सम्मानित गरेको केन्द्रले जनाएको छ । 

बाजुरा जस्तो विकट ठाउँमा उहाँले मौरीपालन गरेर नै गाउँमा मनग्गे आम्दानी गर्नुभएको छ । उहाँको मौरीको मह किन्नका लागि देशभरदेखि पहिला नै अर्डर आउने गर्छ । हिमाली भेगमा रहेको अर्गानिक मौरीको मह स्वास्थ्यका लागि निकै फाइदा हुने गरेकाले उहाँको मह किन्नका लागि विभिन्न ठाउँदेखि पहिला नै अर्डर आउने गरेको हो । 

गत असार १६ गते ‘जीवनभर मौरीपालन, घरमै आउँछ पैसा’ शीर्षकमा गोरखापत्र दैनिकमा समाचार छापिएपछि रावललाई गोदावरी कालिज फार्म तथा मौरीपालन स्रोत केन्द्रले तालिममा बोलाएको थियो । 

म १३ वर्षको उमेरदेखि ‘अर्गानिक’ मौरीपालन गर्दै आएकामा त्यसपछि बल्ल देशभरमा चिरपरिचत भएको ८१ वर्षीय नरजित रावलले बताउनुभयो ।

उहाँले भन्नुभयो, “मौरीपालन गर्दै आएको ६८ वर्ष पूरा भएको छ । काठेघारमा मौरीपालन गर्दा पनि पैसाका लागि उहाँ कहिल्यै घरबाहिर निस्कनु परेको छैन । म कहाँ पैसा लिएर मह किन्न आउनेको सङ्ख्या ठुलो छ । महका लागि माग गर्नेको नाम र कसले कति पैसा दियो भनेर मैले पहिला नै कपीमा टिपेर राख्ने गरेको छु ।”

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय धनगढीले गत वर्ष सुदूरपश्चिमका सबै मौरीपालकलाई बोलाएको थियो । उहाँ त्यहाँ पनि सबैभन्दा राम्रो मौरीपालक कृषकमा छनोट हुनुभएको थियो । 

त्यति मात्र होइन त्यही समाचारको प्रभावले रावललाई कृषि ज्ञान केन्द्र बाजुराले पनि अहिले अनुदानको व्यवस्था गर्ने योजना बनाएको कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख जसिराम साहनीले बताउनुभयो ।