गोरखापत्र समाचारदाता
काठमाडौँ, माघ १४ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चाबहिलस्थित यातायात व्यवस्था कार्यालयमा मङ्गलबार छापा मारेको छ । सवारीचालक अनुमतिपत्र (लाइसेन्स) को लिखित परीक्षामा अनुत्तीर्ण भएका व्यक्तिलाई तीन महिना नपुग्दै अर्को परीक्षामा संलग्न गराएको उजुरी परेपछि आयोगले छापा मारेको हो । सो क्रममा आयोगका कर्मचारीले यातायात कार्यालयका कर्मचारी, लाइसेन्सको परीक्षा तथा ट्रायल प्रक्रियामा संलग्न ट्राफिक प्रहरी तथा केही बिचौलियासमेत गरेर २७ जनाको मोबाइल फोन जफत गरेको छ ।
आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार मोबाइलसहित यातायात कार्यालयबाट केही कागजपत्र पनि आयोगले ल्याएको छ । लिखित परीक्षामा एक पटक अनुत्तीर्ण व्यक्तिले अर्को तीन महिनासम्म लिखित परीक्षामा बस्न नपाउने व्यवस्था छ ।
तर बिचौलियाको प्रभावमा परेर कार्यालयका कर्मचारी र ट्राफिक प्रहरीले आर्थिक लेनदेनमार्फत एक पटक लिखित परीक्षामा अनुत्तीर्ण व्यक्तिलाई तीन महिना नपुग्दै परीक्षामा बस्न लगाएको र उत्तीर्णसमेत गराएको आयोगमा उजुरी परेको थियो ।