विष्णुप्रसाद पोखरेल
दमक, माघ १३ गते। झापा जिल्ला हाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चासोको केन्द्रमा रहेको भन्दै जिल्ला प्रहरी प्रमुख एसपी बसुन्धरा खड्काले निर्वाचनलाई भयरहित, शान्त र निष्पक्ष रूपमा सम्पन्न गराउन प्रहरी पूर्ण रूपमा सक्रिय रहेको बताउनुभएको छ।
झापामा केही दिन अघि मात्र सरुवा भएर आउनु भएकी खड्काले झापाली पत्रकारसँग मंगलवार राखेको परिचायत्मक कार्यक्रममा बोल्दै फागुन २१ गते हुने निर्वाचन सुरक्षाका लागि तयार गरिएको एकीकृत सुरक्षा योजना अनुसार झापा प्रहरी कृयाशील रहेको जानकारी दिनुभयो।
“निर्वाचनलाई भयरहित बनाउन चुनौतीहरू छन्, तर ती सबैलाई सामना गर्दै हामी अघि बढिरहेका छौं,” उहाँले भन्नुभयो।सुरक्षासम्बन्धी संवेदनशीलताको आधारमा तथा उम्मेद्वारको खतरा मूल्यांकन गरेर आवश्यक सुरक्षा व्यवस्था मिलाइने स्पष्ट पार्दै उहाँले प्रहरी निष्पक्ष रुपमा खट्नेमा शंका नगर्न आग्रह गर्नुभयो ।
कुनै पनि उम्मेद्वारले आफूलाई असुरक्षित महसुस गरी सुरक्षा माग गरेमा आवश्यक सुरक्षा उपलब्ध गराउने बताउनुभयो।निर्वाचन सुरक्षा योजनाअन्तर्गत फरार अभियुक्तको खोजी तीव्र पारिएको पनि जानकारी दिनुभयो।
हराएका हतियार खोजि र फरार अभियुक्तहरुको खोजीका लागि एवं सुरक्षालाई थप प्रभावकारी बनाउन जिल्लाभर सादा पोसाकमा समेत प्रहरी परिचालन गरिएको खड्काले बताउनु भएको छ।