• १३ माघ २०८२, मङ्गलबार

पाँच रुपियाँमा बिक्री नहुने मकै १५ मा बिक्री

blog

तुलसीपुर –१९ हात्तीखालका किसान तेजेन्द्र विश्वकर्माको बारीको मकै खेती । तस्बिरः गोकर्ण पौडेल

गोकर्ण पौडेल

तुलसीपुर, माघ १३ गते । तुलसीपुर उपमहानगरपालिका –१९ को हात्तीखाल गाउँभरिको बारीमा मकैखेती गरिएको छ । मकै खेती गर्नुभएका किसान एवम् तुलसीपुर –१९ का वडा सदस्य रेवती विश्वकर्माले वर्षायाममा प्रतिकोसा पाँच रूपियाँमा बिक्री नहुने मकै हिउँदमा भने १५ रूपियाँमा बिक्री हुँदा पनि पुर्‍याउन गाह्रो परेको बताउनुभयो ।

हात्तीखालका अर्का किसान तेजेन्द्र विश्वकर्मा दुई कठ्ठा बारीमा हिउँदमा गहुँ खेतीबाट दुई हजार रूपियाँको गहुँसमेत उत्पादन नहुने बारीमा आधा बारीको मकै घाेगा हालसम्म पाँच हजारमा बिक्री गरेको बताउनुभयो।

हिउँद याममा हिउँदे वर्षाको भर पर्नु यहाँका किसानहरूलाई टेलिया कुलो पक्की भएपछि सिँचाइ सुविधा सहज भएपछि वर्षमा तीन बाली उत्पादन गर्न थालिएको अर्का किसान मनोज विश्वकर्माले बताउनुभयो ।

टेलिया सिँचाइ जल उपभोक्ता संस्थाका अध्यक्ष केशर बस्नेतले ग्वार खोलाकै पुरानो सिँचाइ कुलो भए पनि पक्की नहुँदा पर्याप्त सिँचाइ सुविधा पुर्‍याउन नसकिएको बताउनुभयो । उहाँले  तुलसीपुर –१९ ग्वार खोलाको कुटेचौरदेखि पकर्रेसम्म पक्की हुँदा हिउँदयाममा सिँचाइ गर्न विगतभन्दा सहज भएको र किसानले वर्षमा तीन बालीसम्म उत्पादन सुरू गरेको बताउनुभयो ।

उहाँले कुलो पक्की भएसँगै कुटेचौर, रनियापुर, बाँसगढी, दोघर्रे, हाडिमे, खरखरे, स्थानगाँउ, पकर्रे, हात्तीखालका किसानहरूले बेमौसमी तरकारी खेती, हिउँदयाममा मकै खेती सुरू गरेको बताउनुभयो ।