शेरबहादुर सार्की
बाजुरा, माघ १३ गते । आगामी फागुन २१ गते प्रतिनिधि सभा सदस्य पदको निर्वाचन नजिकिँदै गर्दा बाजुराका विभिन्न दलका उम्मेदवारहरू मतदाता रिझाउन गाउँ–बस्तीमा पुग्न थालेका छन्।
कृषि, स्वास्थ्य, सडक, पुल, खानेपानी, युवालाई रोजगारी दिने जस्ता एजेन्डा लिएर दल तथा स्वतन्त्र उम्मेदवारहरू गाउँ–गाउँमा मतदाता भेट्न पुगिरहेका छन्।
गत माघ ६ गते मनोनयन दर्ता गराएका उम्मेदवारलाई शनिबार मुख्य निर्वाचन अधिकृतको कार्यालयले निर्वाचन चिह्न प्रदान गरेपछि उनीहरू आफ्नो पार्टीको चिन्ह लिएर मत माग्न जिल्लाका विभिन्न गाउँ–बस्तीमा पुगेका छन्।
यसैबिच केही नयाँ र केही पुराना अनुहारका उम्मेदवार गाउँमा देखिन थालेका छन्। हिमाली गाउँपालिका स्थानीय जोगा रोकायाले भन्नुभयो, “बाजुराबाट धेरै नेता जितेर गएका छन्, तर ती कहिल्यै गाउँसम्म आएनन्। चुनाव नजिकिँदा फेरि यहाँ आउँछन्। तर यस्तै नेता आए पनि यहाँको अवस्था केही परिवर्तन भएको छैन।”
उहाँले थप्नुभयो, “नेताले पहिले यहाँको खानेपानी, बाटो, सडक, विद्युत् र रोजगारीका विषयमा कुरा गर्छन्। जसले यी माग पूरा गर्ने वाचा गर्छ, हामी फेरि त्यहीलाई भोट दिन्छौं।”
पुराना नेताहरूले जनताको काम नगरेको भन्दै यसपटक केही नयाँ उम्मेदवारहरूले विकास निर्माणका लागि उम्मेदवारी दिएको बताएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार हेमराज थापाले बाजुरामा पुराना नेताले केही काम नगरेकोले आफूले यहाँको समग्र विकासका लागि उम्मेदवारी दिएको र घण्टीमा मतदान गर्न आग्रह गर्नुभएको छ। उहाँले केही दिनअघि आफ्नै गृहपालिका बुढीगङ्गादेखि चुनावी अभियान सुरु गर्नुभएको छ।
त्यस्तै, नेकपा (एमाले) का उम्मेदवार लालबहादुर थापाले पनि बुढीगङ्गा गाउँपालिका बाटै आफ्नो चुनावी अभियान सुरु गर्नुभएको छ। उहाँले २०७९ सालमा प्रदेशसभा सदस्यमा पनि उम्मेदवारी दिनुभएको थियो।
स्वतन्त्र उम्मेदवार उपेन्द्र शाहीले पनि घरदैलो अभियान तीव्र बनाउनुभएको छ। उहाँले मतदातालाई आफूलाई मत दिन आग्रह गर्दै घर–घर पुग्नुभएको छ।
नेपाली कम्युनिस्ट पार्टीका प्रकाशबहादुर शाहले पनि चुनावी अभियान तीव्र पार्नुभएको छ। उहाँले आफूले प्रदेशमा रहँदा जनताको विकास निर्माणमा सबैभन्दा बढी काम गरेको उल्लेख गर्दै भारी मतले जिताउन मतदाता अनुरोध गर्नुभएको छ।
नेपाली कांग्रेसले भने माघ १६ गतेदेखि आफ्नो पार्टीको घरदैलो अभियान सुरु गर्ने योजना बनाएको जनाएको छ। पार्टीका जिल्ला सभापति रामसिंह रावलले भन्नुभयो, “हामीले प्रत्येक भ्रातृ सङ्गठन, वडा तथा नगर कमिटीलाई सक्रिय गराएका छौं। १६ गतेदेखि चुनाव चिन्ह ‘रुख’ लिएर जनताको घरदैलोमा जानेछौं।”
यसरी बाजुराबाट प्रतिनिधि सभा सदस्य पदका लागि नेपाली कांग्रेसबाट जनकराज गिरी, नेकपा एमालेबाट लालबहादुर थापा, नेकपा (माओवादी केन्द्र) बाट भूपेन्द्र सी, नेपाली कम्युनिस्ट पार्टीबाट प्रकाशबहादुर शाह, राष्ट्रिय स्वतन्त्र पार्टीबाट हेमराज थापा, राप्रपा बाट केशरबहादुर शाही, प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) बाट दीपक डिसी र स्वतन्त्र उम्मेदवार उपेन्द्र शाही गरी आठ जना चुनावी मैदानमा हुनुहुन्छ।
बाजुरामा ४५ हजार ४२८ पुरुष, ४२ हजार ४३१ महिला र अन्य दुई गरी कुल ८७ हजार ८६१ मतदाता छन्। त्यसका लागि यहाँ ७७ मतदान स्टल र ११८ मतदान केन्द्र छन्, जिल्ला निर्वाचन कार्यालयका प्रमुख अंगत महतले जानकारी दिनुभयो।