• १३ माघ २०८२, मङ्गलबार

दलबाट भन्दा स्वतन्त्र उम्मेदवारी दिने महिला बढी

blog

कल्याणपुर समाचारदाता

कल्याणपुर (सप्तरी), माघ १३ गते । प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सप्तरीको चार वटा निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फ १३ जना महिलाले स्वतन्त्र उम्मेदवारका रूपमा मनोनयन दर्ता गरेका छन् भने सात जना महिला राजनीतिक दलको टिकट लिएर उम्मेदवार बनेका छन् । प्रत्यक्षतर्फ १०२ जना उम्मेदवारमध्ये २० महिला चुनावी प्रतिस्पर्धामा होमिनुभएको छ ।  

निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट पुष्पा चौधरी र नागरिक उन्मुक्ति पार्टीबाट टीकालक्ष्मी चौधरी, क्षेत्र नम्बर २ मा नेपाल जनता पार्टीका तर्फबाट पूर्वसांसद रञ्जुकुमारी ठाकुर र नेपाल मजदुर किसान पार्टीबाट नीलमकुमारी यादव, क्षेत्र नम्बर ४ मा नेपाली कम्युनिस्ट पार्टीबाट रुबीकुमारी कर्ण, जनता समाजवादी पार्टी नेपालबाट बबी सिंह यादव र आमजनता पार्टीबाट अनिताकुमारी चौधरी उम्मेदवार बन्नुभएको हो । क्षेत्र नम्बर ३ मा भने कुनै राजनीतिक दलले महिलालाई उम्मेदवार बनाएनन् ।

क्षेत्र नम्बर १ बाट रामकुमारी खङ्ग, रिजवाना खातुन र उम्दादेवी सदा स्वतन्त्र रूपमा उम्मेदवारी दिएर प्रतिस्पर्धामा उत्रिनुभएको छ । यस्तै क्षेत्र नम्बर २ बाट अम्बिकादेवी साफी, सुशीलाकुमारी साह र साधना दास स्वतन्त्रबाट चुनावी मैदानमा उत्रिनुभएको हो ।

क्षेत्र नम्बर ३ मा कौशलकुमारी चौधरी, रजियादेवी सदा, सरिताकुमारी यादव र कोशीलादेवी पासमान स्वतन्त्र रूपमा उम्मेदवार बन्नुभएको हो । क्षेत्र नम्बर ४ बाट स्वतन्त्र रूपमा प्रेमकुमारी महरा चुनावी मैदानमा प्रतिस्पर्धामा उत्रिनुभएको छ ।

मधेशी आयोगका सदस्य आभासेतु सिंह सप्तरीमा १०२ जना उम्मेदवारमध्ये सात जना महिला मात्र राजनीतिक दलको टिकटबाट उम्मेदवार बन्नु सरकारी नीतिमा कमजोरी भएको बताउनुहुन्छ । उहाँले सरकारले प्रत्यक्षतर्फ महिलाका लागि आरक्षित सिट घोषणा नगरेसम्म राजनीतिक दलको प्राथमिकतामा महिला उम्मेदवार नपर्ने बताउनुभयो । सिंहले भन्नुभयो, “महिलासँग आर्थिक अभाव छ । आत्मविश्वासको पनि कमी छ र राजनीतिक दलको प्राथमिकतामा पनि महिला छैनन् ।” 

राजविराज नगरपालिकाका कार्यवाहक नगरप्रमुख इसरत परविनले महिला प्राथमिकतामा नपर्नु समावेशी र राजनीतिक दलको सिद्धान्त अनुकूल नभएको बताउनुभयो । उहाँले राजनीतिक दलभित्र व्यक्तिवादी सोच हाबी भएका कारण प्रत्यक्षतर्फ महिलालाई उम्मेदवार नबनाएको धारणा व्यक्त गर्नुहुन्छ । सप्तरीमा २०४८ सालपछि भएको प्रतिनिधि सभा निर्वाचनमा २०५६ सालमा राप्रपा र २०६४ सालमा मधेशी जनाधिकार फोरम नेपाल हाल (जसपा नेपाल) का नेता रेणु यादव चुनाव जित्ने एक मात्र महिला हुनुहुन्छ ।

यसअघि २०७९ को प्रतिनिधि सभा निर्वाचनमा सप्तरी क्षेत्र नम्बर १ बाट जसपा नेपालका नवलकिशोर साह, क्षेत्र नं. २ बाट जनमत पार्टीका अध्यक्ष डा. सिके राउत, ३ र ४ बाट नेपाली कांग्रेसका क्रमशः दिनेशकुमार यादव र तेजुलाल चौधरी गरी चारै जना पुरुष उम्मेदवारले चुनाव जित्नुभएको थियो । आगामी निर्वाचनका लागि यहाँ कुल चार लाख ४६ हजार ४०२ मतदाता छन् । यसमध्ये महिला मतदाताको सङ्ख्या दुई लाख १३ हजार २८३ रहेको जिल्ला निर्वाचन कार्यालय सप्तरीका प्रमुख रमेशकुमार जोशीले जानकारी दिनुभयो ।