सिराज खान
नेपालगन्ज, माघ १३ गते । बाँकेको जानकी गाउँपालिकामा कन्या विद्यालयको स्थापनापछि मधेशी तथा मुस्लिम समुदायका बालिका आकर्षित भएका छन् ।
ती दुबै समुदायका बालिकालाई विद्यालयमा टिकाइराख्ने उद्देश्यले गाउँपालिकाले सञ्चालनमा ल्याएको कन्या विद्यालयकै कारण पढ्ने बालिकाहरुको सङ्ख्या बढ्दै गएको गाउँपालिकाले जनाएको छ ।
सामाजिक परम्परा, सुरक्षा चिन्ता र पहुँचको अभावका कारण विद्यालयबाट टाढा रहेका छोरीहरूका लागि सञ्चालन गरिएको कन्या विद्यालयमा छात्राहरुको सङ्ख्या बढ्दै गएको गाउँपालिकाका अध्यक्ष छब्बन खाँले बताउनुभयो ।
उहाँका अनुसार शैक्षिक सत्र २०८० देखि जानकी गाउँपालिका–३ मानपुरस्थित श्री नेपाल राष्ट्रिय कन्या आधारभूत विद्यालय स्थापना गरेर छात्राका लागि मात्रै कक्षा ८ सम्म अध्यापन सुरु गरिएको थियो ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत परसुराम उपाध्यायका अनुसार ७५ जना बालिकाबाट सुरु भएको सो विद्यालयमा हाल ४२० जना छात्रा अध्ययनरत छन् । उहाँले विद्यालयलाई कक्षा १२ सम्म विस्तार गर्ने दीर्घकालीन योजना रहेको जानकारी पनि दिनुभयो ।
अधिकृत उपाध्यायका अनुसार गाउँपालिकाले ९० लाख रुपियाँको लागतमा कन्या विद्यालय सञ्चालन गरेको थियो । सङ्घीय सरकारको विशेष अनुदानबाट प्राप्त ५० लाख रुपियाँबाट विद्यालयको पर्खाल र शौचालय निर्माण गरिएको थियो भने गाउँपालिकाले थप ४० लाख रुपियाँ विनियोजन गरी आवश्यक पूर्वाधार तयार पारेको हो ।
नेपालगन्जपछि जिल्लामा कन्या विद्यालय सञ्चालन गर्ने दोस्रो स्थानीय तहका रूपमा जानकी गाउँपालिका चिनिएको गाउँपालिकाले जनाएको छ । सो विद्यालयमा निःशुल्क शिक्षा, शैक्षिक सामग्री, पोसाक, यातायात, स्वच्छ खानेपानी र शौचालयको व्यवस्था गरिएको छ । पालिकाका छ वटै वडाबाट छात्रालाई समेट्ने गरी यातायातको व्यवस्था गरिएको र आवश्यकताअनुसार साधन थपिँदै जाने जनाइएको छ ।
गाउँपालिकाका अनुसार छात्राहरुको सुरक्षा चिन्तालाई ध्यानमा राख्दै विद्यालयमा शिक्षिका तथा कर्मचारी महिला मात्र राखिएको छ । गाउँपालिकाका प्रवक्ता टिकानाथ यादवका अनुसार मधेशी तथा मुस्लिम समुदायमा छोरीलाई घरबाहिर पठाउन अभिभावकमा सङ्कोच हुने भएकाले छुट्टै कन्या विद्यालय सञ्चालन गरिएको हो ।
घरदेखि विद्यालय र विद्यालयदेखि घरसम्म सुरक्षित यातायातको व्यवस्था भएपछि अभिभावकहरूले ढुक्क भएर आफ्ना बालिकालाई विद्यालय पठाउन थालेको उहाँले बताउनुभयो ।
जानकी गाउँपालिकामा हाल ४५ वटा विद्यालय सञ्चालनमा छन् । सामाजिक विकास समिति संयोजक राम अचल धोबीले अब विद्यालयको स्तरवृद्धि गर्दै गुणस्तरीय शिक्षामा केन्द्रित हुने बताउनुभयो ।
सूचना प्रविधि अधिकृत विकास जिसीले कन्या विद्यालयसँगै डिजिटल शिक्षालाई पनि प्राथमिकतामा राखिएको बताउनुभयो । उहाँका अनुसार विद्यालयमा कम्प्युटर ल्याब, आधारभूत सूचना प्रविधि शिक्षा र डिजिटल सिकाइ सामग्री प्रयोग गरिएको छ । आगामी दिनमा अनलाइन कक्षा र ई–लर्निङ सामग्री विस्तार गरिनेछ ।