• ११ माघ २०८२, आइतबार

शिक्षामा प्रतिभा व्यवस्थापन

blog

व्यक्तिमा अन्तर्निहित ज्ञान, सिप, दक्षता, अनुभव, क्षमता र सम्भावना नै समष्टिमा प्रतिभा हो । सङ्गठनको उद्देश्य प्राप्तिका लागि व्यक्तिमा अन्तर्निहित प्रतिभा र सम्भावनाको समुचित पहिचान गर्ने, प्रतिभा प्रस्फुटनको वातावरण तयार गर्ने, साङ्गठानिक उद्देश्य प्राप्तिमा उपयोग गर्ने, उचित क्षतिपूर्तिको व्यवस्था र सेवाकालको अन्त्यमा ज्ञान, सिप र संस्थागत स्मरणको सुरक्षित हस्तान्तरण गर्नेलगायत कार्यको एकीकृत रूप प्रतिभा व्यवस्थापन हो । यो सार्वजनिक व्यवस्थापनको क्षेत्रमा नवीन अवधारणा हो । प्रतिभाको आपूर्तिस्थल शैक्षिक संस्था अर्थात् विद्यालय हुन् । बालबालिकाको अन्तरनिहित प्रतिभा र सम्भावनाको प्रस्फुटनको अवसर दिई उनीहरूलाई असल नागरिकको रूपमा तयार गर्ने कार्य विद्यालयमा हुन्छ । शिक्षक मुख्य सहजकर्ता हो । शिक्षण पेशामा सक्षम र दक्ष जनशक्ति भिœयाउने र तिनको प्रतिभाको पूर्ण उपयोग गर्न सकिएमा मात्र शिक्षालाई गुणस्तरीय बनाउन सकिन्छ । 

प्रतिभावान् जनशक्ति आकर्षित गर्नु

बालबालिकाको पूर्ण व्यक्तित्व विकासका लागि उपयुक्त वातावरण निर्माण गर्ने मुख्य कर्ता शिक्षक हो । बालमैत्रीपूर्ण सिकाइ वातावरणको निर्माण र गुणस्तरीय शिक्षण सिकाइका लागि शिक्षकको प्रतिभा र क्षमताको प्रत्यक्ष प्रभाव परेको हुन्छ । विद्यालयमा प्रतिभावान जनशक्ति भित्र्याउन सकिएमा मात्र विद्यालयको उत्पादन गुणस्तरीय हुन्छ । हाल शिक्षक सेवा आयोगले गरेको विज्ञापनमा दरखास्त दिनेमध्येका उत्कृष्टलाई आयोगले नियुक्तिका लागि सिफारिस गर्ने गरेको छ । यो परम्परागत र नकारात्मक भर्ना प्रणाली हो । यसबाट उत्कृष्ट शैक्षिक जनशक्ति शिक्षण पेसामा भित्र्याउन सकिँदैन । यसको ठाउँमा आवश्यकता अनुसार सम्बन्धित विषयमा सर्वोकृष्ट अङ्कसहित उत्तीर्ण हुने जनशक्तिलाई सोझै शिक्षण पेसामा नियुक्त गर्न सक्ने सकारात्मक भर्ना प्रणालीसमेत अवलम्बन गर्नु पर्छ । 

समयानुकूल सुविधा वृद्धि

शिक्षण पेसामा उम्दा र प्रतिभावान् जनशक्ति आकर्षित गर्न शिक्षण पेसालाई थप आकर्षक बनाउनु पर्छ । हाल राहत, सङ्घीय अनुदान, सामुदायिक/विद्यालय स्रोत गरी विभिन्न खालका शिक्षक कार्यरत छन् । जसको सेवाको स्थायित्व र पारिश्रमिक र सुविधामा एकरूपता छैन । सबै विद्यालयमा न्यूनतम शिक्षक दरबन्दीको व्यवस्था गरी तिनमा शिक्षक सेवा आयोगबाट स्थायी शिक्षक नियुक्ति गर्ने व्यबस्था हुन आवश्यक छ । सबैको पहिलो रोजाइ शिक्षण पेसा हुने र यसमा सफल हुन नसकेमा मात्र अन्य सरकारी सेवामा जाने किसिमको हुने गरी शिक्षण पेसालाई आकर्षक बनाउनु पर्छ । यसका लागि शिक्षकलाई पर्याप्त पारिश्रमिक र सुविधाको व्यवस्था हुन आवश्यक छ । शिक्षण पेसामा लागेकाले सहजै जीवनयापन गर्न सक्ने मौजुदा पारिश्रमिक, सुविधा र सामाजिक सुरक्षाको व्यवस्थामा पुनरवलोकन र थप गरी आकर्षक बनाउनु पर्छ । न्यूनतम आधारभूत पारिश्रमिक तोकी कार्यसम्पादनका आधारमा थप सुविधा दिने व्यवस्था पनि गर्नु पर्छ ।

वृत्तिविकास

हालको बढुवा प्रणालीमा पुनरवलोकन गरी यसलाई अनुमानयोग्य बनाउनु पर्छ । हाल उही तहको माथिल्लो श्रेणीमा हुने बढुवालाई पुनरवलोकन गरी माथिल्लो योग्यता र तालिम भएका तथा उत्कृष्ट कार्यसम्पादन स्तर भएका शिक्षकलाई आन्तरिक प्रतियोगिताबाट माथिल्लो तहमा समेत बढुवा हुने व्यवस्था गर्नु पर्छ । शिक्षकको सरुवालाई थप व्यवस्थित, सरल र स्वचालित बनाउनु पर्छ । सरुवामा विद्यालय व्यवस्थापन समितिको सिफारिस लिने वर्तमान व्यवस्था हटाई तोकिएको मापदण्डका आधारमा स्थानीय तहभित्र स्थानीय तहले र जिल्लाभित्र तथा जिल्लान्तर सरुवा शिक्षा सम्बन्धी सङ्घीय निकायले गर्ने व्यवस्था गर्नु पर्छ । सरुवालाई सामुदायिक र राजनीतिक संलग्नताबाट मुक्त गरी मापदण्डमा आधारित र विशुद्ध शैक्षिक प्रशासनिक प्रक्रियाको रूपमा व्यवस्थित गर्नु पर्छ ।

प्रतिभाको पहिचान 

शिक्षकमा भएको ज्ञान, सिप र क्षमताको समुचित रूपमा पहिचान गरी सोही अनुरूप जिम्मेवारी र प्रतिभा एवं क्षमता उपयोगको अवसर दिनु पर्छ । यसबाट उनीहरूमा गर्व र जिम्मेवारी बोध भई थप रचनात्मक र सिर्जनात्मक रूपमा क्रियाशील हुन उत्प्रेरणा प्राप्त हुन्छ । समयनुकूल आफूलाई अद्यावधिक र प्रतिस्पर्धी बनाउन प्रेरणा प्राप्त हुन्छ । शिक्षकद्वारा सम्पादित कामको वस्तुनिष्ट मूल्याङ्कन गरी यसलाई सुविधा र वृत्तिविकाससँग आबद्ध गर्नु पर्छ । शिक्षक कार्यसम्पादन मूल्याङ्कन गर्दा सुपरीवेक्षक र पुनरवलोकन समितिले गर्ने हालको व्यवस्थामा पुनरवलोकन गरी समकक्षी शिक्षक र विद्यार्थीसमेतबाट हुने मूल्याङ्कनलाई समेत समावेश गर्नु पर्छ । कार्यसम्पादन मूल्याङ्कनका सूचकलाई वस्तुनिष्ठ, मूल्याङ्कन प्रक्रियालाई बहुआयामिक र मूल्याङ्कनकर्तालाई जवाफदेही बनाउनु पर्छ । 

प्रविधिको विकास र वैज्ञानिक आविष्कारले ज्ञानको भण्डारमा दिनुदिन वृद्धि हुँदै गइरहेको छ । सोही अनुसार शिक्षामा पनि नयाँ नयाँ विषयवस्तु समावेश र तौरतरिका अवलम्बन गर्नुपर्ने हुन्छ । एक पटक सिकेको कुराले सधैँभरि पुग्दैन । नयाँ ज्ञान र प्रविधिको परिवर्तनसँग निरन्तर अद्यावधिक भइरहन शिक्षकलाई प्रोत्साहित गर्नु पर्छ । शिक्षण र सिकाइमा नवीन प्रविधिको प्रयोग गर्ने, विद्यार्थीका विविधता, सिकाइ आवश्यकता र समस्याको समुचित ढङ्गले पहिचान गर्ने तिनको वैज्ञानिक ढङ्गले सम्बोधन गर्ने उत्साही, जिज्ञासु र सिकाइ एवम् नवप्रवर्तनमा तल्लीन शिक्षकलाई प्रोत्साहित एवं पुरस्कृत गर्ने व्यवस्था गर्नु पर्छ । यसमा प्रधानाध्यापक, विद्यालय व्यबस्थापन समिति र शैक्षिक व्यवस्थापन सम्बद्ध निकायको ध्यान पुग्नु पर्छ । 

शिक्षकलाई विषयवस्तु र शिक्षण कलासम्बन्धी विषयमा उच्च शिक्षाको अवसर प्रदान गर्नु पर्छ । यसबाट शिक्षकको ज्ञान, सिप र दक्षता अभिवृद्धि हुन्छ । हाल यो अवसर नगण्य जस्तो देखिन्छ । आफ्नै प्रयासमा कतिपय शिक्षकले उच्च शिक्षा हासिल (स्नातकोत्तर, एम फिल, विद्यावारिधि आदि) गर्ने गरेका छन् तर सरकारी तवरबाट यो खासै भएको देखिँदैन । थोरै भए पनि वार्षिक रूपमा शिक्षकलाई छात्रवृत्तिसहितको उच्च शिक्षा अध्ययनको व्यवस्था शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको वार्षिक कार्यक्रममा समावेश गर्नु पर्छ । शैक्षिक विकासमा अग्रणी रहेका मुलुकमा नेपाली शिक्षकलाई उच्च शिक्षाको अध्ययनका लागि पठाउने व्यवस्था गर्नु पर्छ ताकि त्यहाँको शिक्षण कला, अनुभव र प्रविधि स्वदेशमा स्थानान्तरण एवम् अवलम्बन गर्न सकियोस् । त्यस्तै शिक्षणसँग सम्बन्धित विषयमा अनुसन्धान गर्ने कार्यमा शिक्षकलाई संलग्न गराउने र अग्रसरता देखाउनेलाई प्रोत्साहन गर्नु पर्छ । शिक्षकलाई कक्षाकोठामा शिक्षण र सिकाइका समस्या समाधान गरिने कार्यमूलक अनुसन्धानदेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा हुने अनुसन्धानमा सहभागी हुने र त्यसमा आफ्नो प्रतिभा उपयोग गर्ने अवसर दिनु पर्छ । शैक्षिक अनुसन्धानका लागि वार्षिक रूपमा कुल बजेटको निश्चित प्रतिशत रकम विनियोजन गर्ने व्यवस्था गर्नु पर्छ ।

क्षमता विकासको अवसर

शिक्षकलाई शिक्षण कला, विद्यार्थीको विविधता, सिकाइ आवश्यकता र समस्या, सिकाइ वातावरणलगायत विषयमा आवधिक र निरन्तर लामो र छोटो अवधिको तालिमको व्यवस्था गरी क्षमता विकास गर्नु पर्छ । विभिन्न कार्यशाला एवं गोष्ठीमा सहभागिताको पर्याप्त अवसर दिनु पर्छ । यस्ता तालिमलगायत क्षमता विकास कार्यक्रममा सहभागी शिक्षकमध्येबाट प्रतिभावान् शिक्षक पहिचान गरी तिनीहरूलाई प्रशिक्षण, शैक्षिक अनुसन्धान र नवप्रवर्तनका काममा संलग्न गराउनु पर्छ । हाल प्रदेशस्तरका सात वटा तालिम केन्द्रबाट शिक्षक तालिम र क्षमता विकासका कार्यक्रम सञ्चालन भइरहेका छन् । भौगोलिक विविधता र शिक्षक सङ्ख्या अनुरूप यी पर्ताप्त छैनन् । अतः शिक्षक तालिम प्रदायक निकायको संरचनागत विस्तार र शिक्षा विकास तथा समन्वय एकाइबाट छोटो अवधिको तालिम दिने प्रबन्ध गर्न सकिन्छ । 

अन्त्यमा बालमैत्रीपूर्ण सिकाइ वातावरण र गुणस्तरीय शिक्षण सिकाइका माध्यमबाट अन्तर्निहित प्रतिभा प्रस्फुटन गरी बालबालिकाको सर्वाङ्गीण व्यक्तित्व विकास गर्न दक्ष, सक्षम, नवप्रवर्तनमुखी र ऊर्जाशील शिक्षक आवश्यक छ । यसका लागि शिक्षण पेसामा संलग्न शिक्षक स्वयम्को अन्तरनिहित प्रतिभाको समुचित पहिचान, परिचालन एवं उपयोग र प्रोत्साहन गर्नु पर्छ । साथै शिक्षण पेसालाई आकर्षक बनाई प्रतिभावान् जनशक्तिलाई विद्यालय शिक्षा सेवामा भित्र्याउन, टिकाइराख्न र प्रभावकारी परिचालन एवं उपयोग हुन अपरिहार्य छ ।