• १० मंसिर २०८१, सोमबार

जङ्गलमा जलाशय : जनावरलाई पानी, कृषकलाई सिंचाइ

blog

गोकर्ण पौडेल

तुलसीपुर, असार ३० गते । जिल्लाका अधिकांश क्षेत्रमा बनाइएका र बनाउन थालिएका जलाशयहरु वन जङ्गल क्षेत्रमा छन् । दाङ उपत्यकाको उत्तरी क्षेत्रमा बनाइएका त्यस्ता जलाशयबाट पानी सञ्चय मात्रै नभई जङ्गलमा रहेका पशुपंक्षीलाई पानी र कृषकलाई सिंचाई सुविधा हुँदैआएको छ । 

दाङ उपत्यका बृहत् सिंचाई आयोजनाले दाङ उपत्यकाको घोराही, तुलसीपुर, बबई, दंगीशरण, शान्तिनगर गाउँपालिकामा जलाशय निर्माण गरेको हो । आयोजनाका सूचना अधिकारी शान्तराज गौतमका अनुसार आयोजनाबाट हालसम्म २८ वटा जलाशय निर्माण गरिएको छ । 

जिल्लाका अधिकांश क्षेत्रमा खहरे खोला भएका कारण वर्षायाममा सिंचाईका लागि पानी पर्याप्त भएपनि अन्य समयमा भने किसानलाई सिंचाइमा समस्या हुँदैआएको छ । सूचना अधिकारी गौतमले बाह्रै महिना सिंचाई सुविधा पु¥याउन जलाशय निर्माण गरिएको बताउनुभयो । 

जिल्लामा ५८ हजार हेक्टर खेतीयोग्य जमिन छ । तीमध्ये २८ हजार हेक्टर क्षेत्रफलमा मात्रै बाह्रै महिना सिंचाइ सुविधा पुग्दैआएको छ । उपभोक्ता संस्थाका अध्यक्ष शेषमणि कुँवरका अनुसार वडा १८ को स्यानदमार, धनखन्ने, डौडारे, हेमन्तापुर, वनकट्टी आठसय बिघा क्षेत्रफलमा सिंचाइ गर्ने लक्ष्य राखिएको छ । 

अध्यक्ष कुँवरका अनुसार लाभान्वित क्षेत्रको हेमन्तापुर र वनकट्टी क्षेत्रमा हिउँदयाममा मात्रै तोरीमा सिंचाइका लागि ग्वारखोलाको पानी ल्याइने गरिएको  छ । जलाशय निर्माण भएसँगै बाह्रै महिना त्यस क्षेत्रको आठसय बिघा क्षेत्रफलमा सिंचाइ सुविधा पु¥याउन सकिनेछ ।

त्यस्तै, कात्तिके रानी सामुदायिक वन क्षेत्रमा रहेको जलाशय निर्माण भएसँगै  गर्मीयाममा डढेलो नियन्त्रणमा समस्या समाधान हुने पूर्व सचिव शीतल बुढामगरका अनुसार चैतदेखि असारसम्म  जङ्गलमा रहेका जनावर, चरा चुरुङ्गीलाई पानी पिउन समस्या समाधान हुने बताउनुभयो । 

बुढाले भन्नुभयो ‘ड्याम नजिकै पार्क निर्माणको गुरुयोजना तयार भएको छ, जङ्गल नजिकै पार्क र ड्याम भए पर्यटकलाई थप आकर्षण गर्न सकिनेछ ।’ बुढाले भन्नुभयो ‘चैत वैशाखमा डढेलो लाग्दा निभाउने पानी हुँदैन, कम्तीमा अब त्यस्ता समस्या समाधान हुनेछ ।’ 

पर्यावरणीय दिगो विकास एवम् अनुसन्धान केन्द्रका अध्यक्ष डिल्लीबहादुर रावतका अनुसार जलाशय निर्माणले पर्यावरणमा महत्वपूर्ण योगदान पुग्नेछ । दाङको उत्तरी क्षेत्रमा बनाइने जलाशयले दक्षिणी क्षेत्रमा गर्मीयाममा कुँवा, इनार सुक्ने समस्या समाधान हुने रावतले बताउनुभयो । 

त्यसैगरी जलाशय पर्यावरण र सीमसार क्षेत्रका रुपमा विकास हुने रावतले बताउनुभयो । ड्याम निर्माण गर्न थालिएको क्षेत्र गिद्धको वासस्थान नजिककै क्षेत्र भएको र गिद्धले आहार खाएपछि अनिवार्य नुहाउनुपर्ने भएकाले अझ महत्वपूर्ण रहने रावतले बताउनुभयो । यस क्षेत्रमा एक सय १२ प्रजातिका चराको वासस्थान छ ।