काठमाडौँ, माघ ८ गते । नेपालको संविधान, २०७२ जारी भएपछि सम्पन्न आवधिक निर्वाचनमा गठबन्धन र तालमेल गर्दै आएका प्रमुख राजनीतिक दलको वास्तविक शक्ति परीक्षण यस पटक हुने भएको छ । नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टीसहित विघटित संसद्मा प्रतिनिधित्व गर्ने र अधिकांश नयाँ राजनीतिक दलले गठबन्धन नगरी निर्वाचनमा होमिएका कारण फागुन २१ गतेको निर्वाचनमा सबै दलको साङ्गठनिक शक्ति र जनविश्वास परीक्षण हुने भएको छ ।
कांग्रेसले विसं. २०८० फागुनमा सम्पन्न महासमिति बैठक र २०८२ पुसमा सम्पन्न दोस्रो विशेष महाधिवेशनबाटै निर्वाचनपूर्व कुनै किसिमको दलीय गठबन्धन नगर्ने र सत्ता स्वार्थकेन्द्रित गठबन्धन नगर्ने निर्णय गरेको छ । सभापति गगनकुमार थापाले स्थानीय तह, प्रदेश सभा सदस्य र प्रतिनिधि सभा सदस्य निर्वाचनमा कांग्रेस नेताकार्यकर्ताले रूख चिह्नमै मतदान गर्ने सुनिश्चितताका लागि निर्वाचनपूर्व कुनै दलसँग गठबन्धन नगर्ने निर्णय भएको प्रस्ट पार्नुभयो । विसं. २०७४ को प्रतिनिधि सभा निर्वाचनमा एमाले र तत्कालीन नेकपा (माओवादी केन्द्र) अर्थात् हालको नेपाली कम्युनिस्ट पार्टी एउटै घोषणापत्र लिएर निर्वाचनमा गठबन्धन गरेको थिए । गठबन्धनकै बलमा झन्डै दुईतिहाइ मत हासिल गरेका दुई दलबिच एकतासँगै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बने पनि अढाइ वर्षपछि दुई दल छुट्टिए ।
विसं. २०७८ असारपछि राजनीतिक कोर्स बदलियो । सत्ता साझेदार कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चाले २०७९ मा स्थानीय तहसँगै प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनमा गठबन्धन गरेका थिए । एमालेले विभिन्न क्षेत्रमा राष्ट्रिय प्रजातन्त्र पार्टीसँग तालमेल गरेको थियो तर विसं. २०८२ फागुन २१ गतेको प्रतिनिधि सभा सदस्य निर्वाचनमा केही साना दलबाहेक सबै दल आफ्नै बलमा प्रतिस्पर्धामा उत्रिने तयारीमा जुटेका छन् ।
धरातलीय यथार्थ परीक्षण
राजनीतिक दलहरू निर्वाचनमा गठबन्धन वा तालमेल नगरी निर्वाचनमा जाँदै छन् । पूर्वराजदूत तथा राजनीतिशास्त्री प्राडा लोकराज बराल र राजनीतिक विश्लेषक एवं लेखक चन्द्रकिशोरले निर्वाचनपूर्व सत्ता स्वार्थकेन्द्रित गठबन्धनले दलहरूको वास्तविक परीक्षण नहुने बताउनुभयो ।
प्राडा बरालले बहुदलीय व्यवस्थामा सत्ता राजनीतिमा गठबन्धन हुने भए पनि निर्वाचनपूर्वको गठबन्धन उचित नहुने बताउनुभयो । उहाँले भन्नुभयो, “कुनै एउटा पार्टीले सधैँभरि बहुमत ल्याउँछ भन्ने छैन । त्यसैले गठबन्धन नै हुँदैन भन्ने त होइन तर गठबन्धनका नाममा नेपालमा पछिल्ला निर्वाचनमा जुन अभ्यास भए, यसप्रति मान्छेको वितृष्णा कायम भयो । दुई तीन जना नेताका बिचमा गठबन्धन गरेर कुर्सीको आदानप्रदान, स्वार्थका लागि मात्रै गठबन्धन भएको जस्तो ठहरियो ।”
राजनीतिक विश्लेषक चन्द्रकिशोरले यस पटक गठबन्धनतिर जानु हुँदैन भन्ने सवाल प्रत्येक दलमा मुखर भएर आउँदा प्रायः सबै दल गठबन्धनमा नगएको बताउनुभयो । उहाँले संसद्को बनावटमा एक दल र अर्का दलबिच सरकार निर्माणका लागि सहकार्यको आवश्यकता भएमा निर्वाचनपश्चात् गठबन्धनको सम्भावना रहने प्रस्ट पार्नुभयो । उहाँले भन्नुभयो, “गठबन्धनका कारणले स्थान विशेषमा प्रभाव भएका दलले गठबन्धनका साझेदार बनेका कुनै अमुक दललाई बटैया (भागबण्डा) गर्नुपर्ने भयो । यो बटैया गर्दा गठबन्धनका दलहरूले मोहियानी हक दाबी गरे; जसले गर्दा दलको आन्तरिक जीवनमा तिक्तता आयो । हरेक दलभित्र यी प्रश्न उठ्न थाले कि गठबन्धन गर्दा दल झन् कमजोर हुने भयो । हाम्रा कार्यकर्ताले अवसर पाएनन् । त्यस कारण गठबन्धन गर्नु हुँदैन भन्ने विषय हरेक दलभित्र उठ्न थाल्यो ।” कांग्रेस मात्रै होइन, कम्युनिस्ट पार्टी पनि निर्वाचनपूर्व गठबन्धन वा तालमेल नगरी निर्वाचनको तयारीमा जुटेका छन् । जेनजी आन्दोलनपछि पहिलो पटक झापा पुगेका एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनमा एक्लै लड्ने घोषणा गर्नुभयो । त्यसै गरी नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले निर्वाचनमा एकल प्रतिस्पर्धा गर्न नेकपा सक्षम रहेको बताउनुभएको छ । रास्वपा सभापति रवि लामिछानेले कसैसँग तालमेल नहुने प्रस्ट पारिसक्नुभएको छ ।
सङ्गठन चलायमान हुन्छ
पूर्वराजदूत प्राडा लोकराज बराल र राजनीतिक विश्लेषक चन्द्रकिशोरले दलहरूको साङ्गठानिक संरचनालाई यसले चलायमान बनाउने बताउनुभयो । प्राडा बरालले निर्वाचनमै एक्लाएक्लै प्रतिस्पर्धा गर्दा आफ्ना कार्यकर्ता पङ्क्ति चलायमान हुने बताउनुभयो । उहाँले भन्नुभयो, “निर्वाचनअघिको गठबन्धनले कांग्रेसकै कार्यकर्ताले अर्को पार्टीलाई वा कम्युनिस्टलाई र कम्युनिस्ट पार्टीका कार्यकर्ताले कांग्रेसलाई मत दिन गाह्रो हुँदो रहेछ र सत्ताकै लागि मात्रै गठबन्धन गर्दा विकृत रूप पनि देखा परेकाले यो गलत हो भन्ने निष्कर्षमा दलहरू पुगे ।” लेखक चन्द्रकिशोरले दलहरूका सङ्गठनलाई गतिशील बनाउने भए निर्वाचनपूर्वको गठबन्धन सही नहुने बताउनुभयो । उहाँले आफ्नै दलका कार्यकर्तालाई अवसर दिने, कार्यकर्ता परिचालन गर्ने र साङ्गठनिक गतिशीलता प्रदान गर्नका लागि आफ्नो क्षमता परीक्षण गर्न एक्लै प्रतिस्पर्धामा जानु उचित हुने बताउनुभयो ।
प्राडा बरालले निर्वाचनअघि कुर्सीको लेनदेनका लागि मात्रै गठबन्धन गरेको सन्देश जाँदा नागरिकमा निराशा बढ्ने भएकाले अहिले दलहरूले लिएको कदम ठिक भएको बताउनुभयो । उहाँले भन्नुभयो, “विशेष गरी अहिले नेपाली कांग्रेसमा युवा नेतृत्वले यो कुरालाई अगाडि बढाएको छ । अरू दलले पनि निर्वाचनमा एक्लै जाने भनेका छन् । अब आआफ्नो दलको क्षमता पनि थाहा हुन्छ । कुन दल कति कमजोर छ, धरातल कस्तो छ भन्ने कुरा थाहा हुन्छ ।”