• ७ माघ २०८२, बुधबार

धनुषाका चार निर्वाचन क्षेत्रमा १५८ जनाको उम्मेदवारी दर्ता

blog

मङ्गलबार धनुषा निर्वाचन क्षेत्र-३ स्थित मुख्य निर्वाचन अधिकृतको कार्यालय ।

लक्ष्मी चौधरी

जनकपुरधाम, माघ ७ गते । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि धनुषाका चारवटै निर्वाचन क्षेत्रमा दलगत तथा स्वतन्त्र गरी १५८ जनाले उम्मेदवारी दर्ता गराएका छन्।

मङ्गलबार उम्मेदवारी दर्ताका क्रममा बाहिर तामझाम देखिए पनि निर्वाचन कार्यालयभित्र सीमित व्यक्तिको प्रवेशमा शान्तिपूर्ण वातावरणमा प्रक्रिया सम्पन्न भएको निर्वाचन कार्यालयले जनाएको छ ।

निर्वाचन क्षेत्र–१ मा ४२ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जसमध्ये २९ जना स्वतन्त्र र १३ जना दलगत उम्मेदवार छन् । 

दलगततर्फ एमालेबाट मधेश प्रदेशका निवर्तमान सभामुख रामचन्द्र मण्डल, नेकपाबाट मातृकाप्रसाद यादव, नेपाली कांग्रेसबाट रामपल्टन साह, जसपा नेपालबाट दीपक कार्की, रास्वपाबाट किशोरी साह कमल, जनमतबाट ब्रह्मदेव महतो, नेकपा (माओवादी) बाट विहारी राय अमात, राप्रपाबाट मनोज मल्ल ठकुरी, उज्यालो नेपाल पार्टीबाट महेशकुमार यादव, ऐतिहासिक जनता पार्टीबाट बद्रिनारायण ठाकुर सोनार, मङ्गोल नेशनल अर्गनाइजेशनबाट रामबहादुर लामा र आम जनता पार्टीबाट इन्द्रजित साफीले उम्मेदवारी दिनुभएको छ ।

निर्वाचन क्षेत्र–२ मा ३४ जनाले उम्मेदवारी दिएका छन् । तीमध्ये २४ जना स्वतन्त्र र १० जना दलगत उम्मेदवार छन् । दलगततर्फ कांग्रेसका दिनेश परसैला, एमालेका उमाशङ्कर अरगरिया, जसपा नेपालका पशुपति यादव, नेकपाका रामचन्द्र झा, जनमतका सुरेन्द्रप्रसाद यादव, रास्वाका रामविनोद यादव, राष्ट्रिय मुक्ति पार्टी नेपालका विनोदकुमार ठाकुर र राप्रपाका महेश्वर यादवले उम्मेदवारी दर्ता गराएका छन् ।

निर्वाचन क्षेत्र–३ मा ४५ जनाको उम्मेदवारी परेको छ । जसमध्ये २९ जना स्वतन्त्र र १३ जना दलगत उम्मेदवार छन् । दलगततर्फ नेपाली कांग्रेसका पूर्व उपसभापति एवं पूर्व उपप्रधानमन्त्री विमलेन्द्र निधि, एमालेबाट पूर्वमन्त्री जुलीकुमारी महतो, रास्वपाका प्रवक्ता मनीष झा, जसपा नेपालबाट पूर्व प्रदेशसभा सदस्य परमेश्वर साह सुडी, जनमत पार्टीबाट गोपालप्रसाद साह, उज्यालो नेपाल पार्टीबाट प्रमोदकुमार साह, नेकपा (माओवादी) बाट रमेन्द्रकुमार कर्ण र राष्ट्रिय मुक्ति पार्टी नेपालबाट राजिव झाले उम्मेदवारी दिएका छन् । 

यस्तै नेकपाबाट रामविलास मण्डल, आम जनता पार्टीबाट प्रदीपविक्रम साह, नेपाल जनता पार्टीबाट अमरेन्द्रकुमार झा, नेपाल मजदुर किसान पार्टीबाट गङ्गालक्ष्मी वैद्य, श्रम संस्कृति पार्टीबाट सदाम हुसैन, राष्ट्रिय निर्माण दलबाट सबनम खातुन साफी, राप्रपाबाट हुसैन कवारी तथा नेपालका लागि नेपाली पार्टीबाट चन्दनकुमार झाले पनि उम्मेदवारी दर्ता गराएका छन् ।

निर्वाचन क्षेत्र–४ मा ३७ जनाले उम्मेदवारी दर्ता गराएका छन् । तीमध्ये २४ जना स्वतन्त्र र १३ जना दलगत उम्मेदवार छन् । दलगततर्फ एमालेका उपमहासचिव एवं पूर्वमन्त्री रघुवीर महासेठ, नेपाली कांग्रेसका महेन्द्र यादव, जसपा नेपालका कृष्णचन्द्रप्रसाद साह, नेकपाका सञ्जयकुमार महतो, नेकपा (माओवादी) का देवनारायण शाह, जनमतका इन्द्रजितकुमार यादव, रास्वपाका राजकिशोर महतो, राष्ट्रिय मुक्ति पार्टी नेपालका महावीर यादव, राष्ट्रिय एकता दलका जितेन्द्र दास, प्रगतिशील लोकतान्त्रिक पार्टीका राकेशकुमार राय, राप्रपाका रामबाबु साह, मङ्गोल नेशनल अर्गनाइजेशनका सूर्यप्रसाद लामा र आम जनता पार्टीका सम्पत महतो कोइरीले उम्मेदवारी दिएका छन् ।

धनुषाको चारवटै क्षेत्रबाट महिला उम्मेदवारको सङ्ख्या दलगत र स्वतन्त्र गरी ११ जना छन् ।

निर्वाचन कार्यालयका अनुसार मनोनयन पत्र दर्ता भएका उम्मेदवारविरुद्ध उजुरी दिने अवधि माघ ७ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म रहनेछ । सोही दिन दिउँसो ३ बजेदेखि माघ ८ गते बेलुका ५ बजेसम्म मनोनयन पत्र तथा उजुरीमाथि जाँचबुझ गरी निर्णय गरिनेछ । माघ ८ गते बेलुका ५ बजेदेखि ७ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गरिने जनाइएको छ ।

यस्तै माघ ९ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिन सक्नेछन् । सोही दिन दिउँसो १ बजेदेखि ३ बजेसम्म अन्तिम नामावली प्रकाशन गरी दिउँसो ४ बजेदेखि साँझ ७ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिने निर्वाचन कार्यालयले जनाएको छ ।