• ७ माघ २०८२, बुधबार

बैतडीमा १२ जनाको मनोनयन दर्ता, भण्डारी चौथो पटक उम्मेदवार

blog

एमालेका उम्मेदवार दामोदर भण्डारी, नकांग्रेसका चतुरबहादुर चन्द र नेकपाका परमानन्द भट्ट । तस्बिरः गोकर्ण दयाल

गोकर्ण दयाल
बैतडी, माघ ७ गते ।
फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि बैतडीमा १० वटा राजनीतिक दल र दुई जना स्वतन्त्रसहित १२ जनाले मनोनयन दर्ता गराएका छन् । नेकपा एमालेबाट भने चौथो पटक दामोदर भण्डारी दोहोरिनुभएको छ ।

नयाँ अनुहारमा नेपाली कांग्रेसबाट चतुरबहादुर चन्द, नेपाली कम्युनिष्ट पार्टीबाट परमानन्द भट्ट, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट भूपेन्द्र चन्द र राष्ट्रिय स्वतन्त्र पार्टीबाट हरिमोहन भण्डारीले मनोनय दर्ता गर्नुभएको छ । त्यसैगरी, जनता समाजवादीबाट आनसिंह भण्डारी, श्रमसंस्कृति पार्टीबाट गजेन्द्रराज पाण्डेय, नेपाल मजदुर किसान पार्टीबाट नवराज कोइराला, नेपाल कम्युनिष्ट पार्टी (माओवादी) बाट रामबहादुर कुँवर, आम जनता पातर्टीबाट बिसनसिंह बोहराले मनोनयन दर्ता गर्नुभएको छ ।

त्यसैगरी, स्वतन्त्र उम्मेदवारका रुपमा तेजबहादुर चन्द र जयप्रकाश पन्तले मनोनयन दर्ता गर्नुभएको छ । स्वतन्त्र उम्मेदवारी दिनुभएका पन्त यसअघि राष्ट्रिय प्रजातन्त्र पार्टीमा आबद्ध हुनुहुन्थ्यो भने चन्द नेपाली कांग्रेसमा रहनुभएको थियो ।

एक मात्र सङ्घीय निर्वाचन क्षेत्र रहेको बैतडीबाट प्रतिनिधि सभाका लागि मनोनय दर्ता गर्न उम्मेदवारहरु छलिया नृत्यसहित बाजागाजा बजाएर मङ्गलबार मुख्य निर्वाचन अधिकृतको कार्यालय गढी पुग्नुभएको थियो । उम्मेदवारी दर्ता गर्न दिइएको समय तालिका अनुसार राष्ट्रिय प्रजातन्त्र पार्टीबाट भूपेन्द्र चन्दले पहिलो उम्मेदवारी दर्ता गराउनु भएको छ । अन्य सबै उम्मेदवार आफैँ उपस्थित भएर मनोनयन दर्ता गरेका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीबाट हरिमोहन भण्डारीले वारिसमार्फत मनोनय दर्ता गर्नुभएको छ  ।  

नेकपा एमालेका केन्द्री सदस्य एवम् पूर्व मन्त्री दामोदर भण्डारी चौथो पटक चुनावी मैदानमा देखिनुभएको छ । नेपाली कांग्रेसका बैतडी पार्टी सभापति एवम् नेपाल क्रिकेट सङ्घ (क्यान) केन्द्रीय अध्यक्ष चतुरबहादुर चन्द पहिलो पटक चुनाव लड्दै हुनुहुन्छ । त्यसैगरी, नेपाली कम्युनिष्ट पार्टीबाट परमानन्द भट्ट पनि प्रतिनिधि सभामा पहिलो पटक निर्वाचनमा होेमिनुभएको छ । भट्ट नेकपा एमालेबाट विभाजित भएको नेकपा समाजवादी हुँदै हालै प्रचण्ड र माधव नेपालबिच  एकता भएको नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट उम्मेदवारका रुपमा अघि सारिएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीबाट उम्मेदवार बन्नुभएका भूपेन्द्र चन्द पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दका पुत्र हुनुहुन्छ भने राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बन्नु भएका हरिमोहन भण्डारी यसअघि नेपाली काँग्रेसमा आबद्ध हुनुहुन्थ्यो । गत २०७९ को सुदूरपश्चि प्रदेश सभामा स्वतन्त्र उम्मेद्वारी दिएर पराजित हुनु भएका उहाँलाई पार्टीले कारबाही गरेको थियो । भण्डारी हालः राष्ट्रि स्वतन्त्र पार्टीमा आबद्ध हुनुहुन्छ ।