बिष्णुप्रसाद पोखरेल
दमक, माघ ७ गते । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि झापा क्षेत्र नंं. ५ मा सबैभन्दा बढी उम्मेदवारी परेको छ । देशकै ध्यान केन्द्रित भएको झापा निर्वाचन क्षेत्र नम्बर ५ मा सबैभन्दा बढी उम्मेदवारी दर्ता भएको हो ।
निर्वाचन अधिकृतको कार्यालय दमकमा मङ्गलबार नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा निवर्तमान काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) सहित २५ जनाको उम्मेदवारी परेको छ ।
प्रमुख निर्वाचन अधिकृतको कार्यालय झापाका अनुुसार ५ वटा निर्वाचन क्षेत्र रहेको जिल्लाका निर्वाचन अधिकृतको कार्यालयमा गएर १७ स्वतन्त्र उम्मेदवारसहित ९० जनाले उम्मेदवारी दर्ता गराएका छन् । ओली र बालेनको उम्मेदवारी चर्चाका कारण अन्य निर्वाचन क्षेत्रको उम्मेदवारीले पनि कम चर्चा पाएको छ ।
झापा क्षेत्र नं. १ मा सबैभन्दा कम उम्मेदवारी परेको छ । यहाँ १५ जनाले उम्मेदवारी दर्ता गरेका छन् । कुल ९० उम्मेदवारमध्ये १५ जना महिला रहेको पाइएको छ । मङ्गलबार साँझसम्म क्षेत्र नं. २ मा १८ जना, क्षेत्र नंं ३ मा १७ जना र क्षेत्र नं. ४ मा १६ जनाको उम्मेदवारी मनोनय भएको छ ।