• ६ माघ २०८२, मङ्गलबार

हिमालयन च्यालेन्जर्स चेसमा अभिक च्याम्पियन

blog

हिमालयन च्यालेन्जर्स क्लासिकल चेसका विजेता खेलाडीहरू ।

काठमाडौँ, माघ ६ गते । सेन्ट जेभियर्स कलेजका अभिक शाह शतप्रतिशत जितसहित हिमालयन च्यालेन्जर्स फिडे रेटिङ क्लासिकल चेस च्याम्पियन बन्नु भएको छ । उहाँले अन्तिम तथा नवौँ चरणमा हार्दिक पन्तलाई पराजित गर्नु भयो ।

कूल एक लाख ३५ हजार रुपियाँ पुरस्कारको हिमालयन च्यालेन्जर्स क्लासिकल चेसमा प्रत्येक खेलमा हरेक खेलाडीलाई ९० मिनेट र ३० सेकेन्डको इन्क्रिमेन्ट समय दिइएको थियो ।

लगातार नौ दिनको रोमान्चक प्रतिस्पर्धा पछि द ब्रिटिश कलेजका सजल न्यौपाने (१९ अङ्क) उपविजेता बन्नु भयो । संस्कार गुरुकुल स्कुलका आशिर्वाद थापा तेस्रो हुनु भयो । 

स्वीस लिग प्रणाली अनुसार नौ चरणमा सञ्चालित प्रतियोगितामा १९१८ रेटेड अभिकले सौर्य प्रताप सिंह कार्की, आशिर्वाद थापा, शुभाङ्ग प्रधान, सजल न्यौपाने, सात्विकमान तुलाधर, लियोन महर्जन, उजिभानी कँडेल, निहाना श्रेष्ठ र हार्दिकको चुनाैती पन्छाउँदै शतप्रतिशत जितसहित अधिकतम २७ अङ्क जोडेर उपाधि कब्जा गर्नु भएको हो । 

यसैगरी महिलातर्फ निहाना श्रेष्ठ १५ अङ्कसहित पहिलो हुनु भयो । समान  १५ अङ्क जोडेपनि टाइब्रेकरको आधारमा उजिभानी कँडेल दोस्रो र ओजस्वी श्रेष्ठ तेस्रोमा रहनु भयो ।  यू–८ तर्फ विराज सरिया, यू–१० मा शुभांग प्रधान, यू–१२ मा हार्दिक पन्त, यू–१४ मा प्रवीर केसी र यू–१६ मा विमश लोहनी पहिलो हुनु भयो । 

कुल २८ वटा स्कुल र कलेजका ६ महिला र २४ पुरुष गरी ३० जना खेलाडी सहभागी हिमालयन च्यालेन्जर्स क्लासिक चेसमा फिडे रेटेड १५ खेलाडीसँगै अनरेटेड १५ जना सहभागी थिए । 

विजेतालाई हिमालयन चेस एकेडेमीकी संस्थापक मोनालिशा खम्बू, प्रमुख अथिति नेपाल सरकारका पूर्वसचिव जीवनप्रभा लामा, राष्ट्रिय खेलकुद परिषदका सदस्य कुमार लामा घिसिङ, कोसी प्रदेश बुद्धिचाल सङ्घका अध्यक्ष सुरेन्द्रकुमार राई, काठमाडौँ चजिल्ला चेस सङ्घका अध्यक्ष केशव श्रेष्ठ, साहसिक खेल विज्ञ राजीव चन्द, नेपाल स्टक एक्सचेन्ज (नेप्से) का निर्देशक टीका निधि लोहनी, ललिता राई लामालगायतले  पुरस्कार, ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गर्नु भयो ।