• ६ माघ २०८२, मङ्गलबार

इलाममा मनोनयन दर्ता सुरु

blog

इलाम क्षेत्रनम्बर–२ को प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो मनोनयन दर्ता गराएपछि नेपाल जनमुक्ति पार्टीका उम्मेद्वार याम योङहाङ लिम्बू । तस्बिरः कोकिला ढकाल

कोकिला ढकाल

इलाम, माघ ६ गते । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि इलाममा पनि उम्मेद्वारको मनोनयन दर्ता सुरु भएको छ । जनमुक्ति पार्टीका उम्मेद्वार याम योङहाङ लिम्बूले इलाम क्षेत्र नम्बर–२ का लागि पहिलो उम्मेद्वारी दर्ता गराउनुभएको मुख्य निर्वाचन अधिकृत रोशन गजुरेलले जानकारी दिनुभयो ।  

अहिले मङ्गोल नेशनल अर्गनाइजेशनको उम्मेद्वारी दर्ताको लागि तयारी भएको बताइएको छ । इलाममा दुुईवटा निर्वाचन क्षेत्र छन् । इलाम सदरमुकाममा इलाम क्षेत्र नम्बर –२ को लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय छ भने इलाम क्षेत्र नम्बर–१ का  लागि सूर्योदय नगरपालिकामा निर्वाचन अधिकृतको कार्यालय छ । अहिलेसम्ममा इलाम क्षेत्र नम्बर –१ का राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका ज्वाला नेपालको उम्मेद्वारी दर्ता भएको छ । 

जिल्लामा रहेका ठूला दलहरु नेकपा एमालेले इलाम–२ मा दिउँसो एक बजेदेखि साढे एक बजेसम्म मनोनयन दर्ता गराउने समय लिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

यस्तै नेपाली कांग्रेसले दिउँसो साढे दुुई बजेदेखि तीन बजेसम्म मनोनयन दर्ताको समय लिएको छ । नेपाली कम्युनिष्ट पार्टीले तीन बजेदेखि साढे तीन बजेको समय लिएको जनाइएको छ । 

राष्ट्रिय स्वतन्त्र पार्टीले दिउँसो साढे तीन बजेको समय लिएको बताइएको छ । इलाम–२ मा एमालेबाट सुुहाङ नेम्वाङ र नेपाली कांग्रेसबाट पुराना नेता भेषराज आचार्यको उम्मेद्वारी पर्ने टुुङ्गो लागेको ती दलहरुले जनाएका छन् । सुहाङ यसअघिको उप–निर्वाचनमा पनि नेपाली कांग्रेसलाई पराजित गर्दै प्रतिनिधिसभा सदस्य बन्नुुभएको थियो ।