अविनाश चौधरी
धनगढी, माघ ६ गते । लामो समय नेपाली कांग्रेसबाट राजनीति गर्नुभएका कैलालीको धनगढी निवासी प्यारेलाल रानाले प्रतिनिधि सभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दर्ता गराउनु भएको छ ।
केही समयअघि नेपाली कांग्रेस पार्टी परित्याग गर्नु भएका उहाँले राना थारू समुदायको प्रतिनिधित्व गर्दै कैलाली क्षेत्र नम्बर ५ बाट स्वतन्त्र उम्मेदवारी दर्ता गराउनु भएको हो ।
मुख्य राजनीतिक दलहरूले यस पटक राना थारू समुदायबाट उम्मेदवार बनाएका छैनन् । निर्वाचन क्षेत्रमा २०७४ को निर्वाचनमा कांग्रेस नेतृ आरजु राणा देउवालाई पराजित गरेका नारदमुनि रानाले यस पटक टिकट पाउनु भएन । रानाथारू समुदायबाट एक जनालाई पनि दलहरूले अवसर नदिएपछि प्यारेलाल चुनावी मैदानमा उत्रिनु परेको बताउनु भयो । यसअघि उहाँ समानुपातिकबाट संविधान सभा सदस्य हुनु हुन्थ्यो ।
क्षेत्र नम्बर ५ मा नेकपा (एमाले) ले यज्ञराज ढुङ्गानालाई उम्मेदवार बनाएको छ । त्यस्तै, कांग्रेसले नरनारायण शाह मनु, नेकपाले प्रेम आले, रेशमलाल चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टी नेपालले जगन्नाथ चौधरी, राष्ट्रिय स्वतन्त्र पार्टीले आनन्द चन्दलाई उम्मेदवार बनाएको छ ।