अर्जुन काफ्ले
स्याङ्जा, माघ ४ गते । पुतलीबजार नगरपालिका –१ मालेबगर खेलमैदानमा जारी प्रथम खुमा अर्याल टी–२० रनिङ कप क्रिकेटमा आइतबार दुई खेल हुँदै छ ।
खुमा अर्याल फाउन्डेसन स्याङ्जाले आयोजना गरेको प्रतियोगितामा आज पहिलो खेल समूह सीको भीरकोट र गल्याङ नगरपालिकाबिच प्रतिस्पर्धा हुनेछ । भीरकोटले पहिलो खेल हारेको छ भने गल्याङको पहिलो खेल हो । गल्याङ नगरपालिकामा राष्ट्रिय स्तरका खेलाडी इशान पाण्डे, दिपक डुम्रे, सन्दिप क्षेत्री लगायतका खेलाडी रहेका छन् ।
यस्तै, दोस्रो खेल वालिङ नगरपालिका र फेदीखेलाबिच प्रतिस्पर्धा हुने छ । फेदीखोलाले पहिलो खेल हार्दा वालिङ पहिलो खेल जितेको छ । शनिबारको खेलमा वालिङले कालीगण्डकीलाई २२ रनले पराजित गरेको थियो भने आँधीखोलाले भीरकोट नगरपालिकालाई पाँच रनले पराजित गरेको थियो ।
यहाँ आयोजित प्रतियोगितामा जिल्लाकै ११ पालिकाको सहिभागिता रहेको छ भने चार समूहमा विभाजन गरिएको फाउण्डेसनका अध्यक्ष लेखना शर्माले बताउनुभयो ।
समूह ए, बी, सीमा तीन तीन पालिका रहेका छन् भने समूह डीमा दुई पालिका रहेका छन् । प्रत्येक समूहको समूह विजेता सेमिफाइनमा प्रवेश गर्ने छन् । सेमिफाइनमा ए र सी तथा बी र डीको विजेता प्रतिस्पर्धा गर्ने छन् ।
स्यास्थ्य, शिक्षा, खेलकुद र रोजगारीमा सहयोग गर्ने लक्ष्य लिएर स्थापना भएको फाउण्डेसलने स्याङ्जालाई क्रिकेट लगायतका खेलको हबका रुपमा विकसित गराउने र जिल्लाको खेलकुदलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको फाउण्डेनसका सचिव धु्रब शर्माले बताउनुभयो ।
प्रतियोगितामा विजेताले दुई लाखसहित कप मेडल र प्रमाणपत्र हात पार्ने छ भने उपविजेताले एक लाख ५० हजार रुपियाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । यस्तै तृतीयले एक लाख र सान्त्वनाले ५० हजार रुपियाँसहित ट्रफी, मेडल र प्रमाणपत्र हात पार्ने छ ।
प्रतियोगितामा प्लेयर अफ दि म्याचले पाँच हजार र प्रतियोगिताका विधागत बेष्ट प्लेयरले १०/१० हजार पुरस्कार पाउने फाउन्डेसनले जनाएको छ ।