• ४ माघ २०८२, आइतबार

अत्यधिक मदिरा सेवनले दुई महिनामा सात जनाको मृत्यु

blog

लहान नगरपालिका–१ मटियर्वामा २५ वर्षीय जितेन्द्र सदायको मृत्युपछि शोकमा डुबेकी उहाँकी पत्नी इन्दु सदाय, छोरी आरोसी सदाय र स्थानीय महिला । तस्बिरः जीवछ यादव

जीवछ यादव
लहान, माघ ४ गते ।
लहान नगरपालिका–१ मटियर्वा (कटियर्वा) क्षेत्रमा पछिल्लो दुई महिनामा अत्यधिक मदिरा सेवनका कारण सात जनाको मृत्यु भएको छ । मृत्यु हुने सबै ४० वर्षभन्दा कम उमेरका युवक तथा पुरुष रहेको स्थानीयले बताएका छन् ।

मृत्यु हुनेहरूमा २७ वर्षीय जितेन्द्र सदाय, २७ वर्षीय सञ्जय सदाय, ३० वर्षीय नथुनी सदाय, ५५ वर्षीय कलरु सदाय, ४० वर्षीय नन्दा सदाय, ४० वर्षीय चैती सदाय र ५५ वर्षीय पतिराम सदाय रहेका छन् ।

पुस २५ गते राति करिब ९ बजे २७ वर्षीय जितेन्द्र सदायको मृत्यु भएको थियो । मृतकका श्रीमती इन्दु सदाय र १ वर्षीया छोरी आरोसी सदायको पालन–पोषण कसले गर्ने भन्ने चिन्ता स्थानीय महिलाहरूले व्यक्त गरेका छन् ।

स्थानीय महिलाहरूले सामूहिक रूपमा भने, “आफ्नै जग्गामा घर छैन, जीविकोपार्जनको कुनै स्थायी आधार छैन । चिसो मौसममा पर्याप्त न्यानो लुगा नलगाई अत्यधिक मदिरा सेवन गर्दा ४० वर्ष नपुग्दै मृत्यु भइरहेको छ ।”

रञ्जु देवी सदायका अनुसार लहान नगरपालिका–१ र २ का करिब ३०० घरधुरी रहेको मुसहर बस्तीमा पुरुषहरू दिनभरि कमाएको पैसा अवैध रूपमा सञ्चालन भइरहेका भट्टीहरूमा मदिरा सेवनमा खर्च गर्ने र राति खाली हात घर फर्किने गरेका छन् । “बाँचुन्जेल घरेलु हिंसा सहनुपर्छ, मरेपछि विधवा भएर जीवन बिताउनुपर्छ,” उहाँले गुनासो गर्नुभयो । मदिरा बिक्रीमा रोक नलगाए बस्ती युवकविहीन हुने खतरा रहेको उहाँको भनाइ छ ।

मुसहर बस्तीमा मृत्यु भएपछि लहान नगरपालिकाले एक क्विन्टल चामल, शव दाहसंस्कारका लागि चार क्विन्टल दाउरा र पाँच हजार रुपियाँ नगद सहयोग गर्नु सकारात्मक भए पनि, मृत्युको मूल कारण रहेका चिसो र मदिरा नियन्त्रणतर्फ समयमै ध्यान नदिएको स्थानीय सोमनी देवी सदायले बताउनुभयो । उहाँका अनुसार चिसो मौसम सुरु हुनुअघि नै न्यानो लुगा वितरण र मदिरा बिक्रीमा पूर्ण रोक आवश्यक छ ।

केही दिनअघि २५ वर्षीय सञ्जीव सदायको मृत्यु हुँदा राहत लिएर आउनुभएका नगरप्रमुख महेश प्रसाद चौधरीसमक्ष मदिरा बिक्रीमा रोक लगाउन सामूहिक माग गरिएको गीता देवी सदायले जानकारी दिनुभयो । नगरप्रमुखले लिखित निवेदन आएपछि मदिरा बिक्री रोक्ने आश्वासन दिएको उहाँले बताउनुभयो । यद्यपि पुस ९ गते नै वडा कार्यालयमा निवेदन दिँदा पनि कुनै सुनुवाइ नभएको स्थानीय महिलाहरूको गुनासो छ ।

यस विषयमा नगरप्रमुख महेश प्रसाद चौधरीले भन्नुभयो, “मदिरा बिक्री रोक्न वडा कार्यालयबाट निवेदन नगरपालिकामा आउनेबित्तिकै इलाका प्रहरी कार्यालय लहानसँग समन्वय गरेर आवश्यक कदम चालिन्छ ।”

लहान क्षेत्रमा करिब २० हजारको सङ्ख्यामा रहेको मुसहर समुदायमा चिसो र अत्यधिक मदिरा सेवनका कारण ४० वर्ष नपुग्दै मृत्यु हुनु गम्भीर मानवीय सङ्कट भएको मानव अधिकारकर्मी राजकुमार राउतले बताउनुभयो । उहाँले यस्ता बस्तीको संरक्षणका लागि स्थानीय सरकारले तत्काल पहल गर्नुपर्ने माग गर्नुभयो ।