• ४ माघ २०८२, आइतबार

फरार १३ प्रतिवादी पक्राउ

blog

प्रतीक इच्छुक शर्मा
सल्यान, माघ ४ गते ।
सल्यान जिल्लामा विभिन्न मुद्दामा अदालतबाट सजाय फैसला भई फरार रहेका १३ जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक पूर्णबहादुर केसीले फैसला कार्यान्वयन अभियानअन्तर्गत एक महिनाको अवधिमा शारदा नगरपालिका, बन्गाड कुपिण्डे नगरपालिका, दार्मा, छत्रेश्वरी र कालीमाटी गाउँपालिकाका विभिन्न स्थानबाट फरार प्रतिवादीहरू पक्राउ परेको बताउनुभयो ।

उहाँका अनुसार पक्राउ पर्नेमा शारदा नगरपालिका–१० का ३२ वर्षीय मेघराज कुँवर, दार्मा गाउँपालिका–१ का ३८ वर्षीय चक्रबहादुर खड्का, ३९ वर्षीया विमला खड्का, ३० वर्षीय महेश खड्का रहेका छन् । यसैगरी, कालीमाटी गाउँपालिकाका ३६ वर्षीय ओमबहादुर बुढा, छत्रेश्वरी गाउँपालिका–६ का ३९ वर्षीय टीकाराम भण्डारी, दार्मा गाउँपालिका–४ की अन्जना शाह, बन्गाड कुपिण्डे नगरपालिका–२ का धने नकाल, शारदा नगरपालिका–१३ की कमला ओलीलगायत रहेका छन् ।

उनीहरू सवारी ज्यान, बैकिङ कसुर, बहुविवाह, नक्कली प्रमाणपत्र, हाडनाता करणी लगायतका मुद्दामा जिल्ला अदालत सल्यानबाट कैद तथा जरिवाना सजाय तोकिएपछि एक वर्षदेखि ११ वर्षसम्म फरार रहँदै आएका थिए ।

पक्राउ परेका सबैलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी कारागार चलान गरिएको सूचना अधिकारी केसीले जानकारी दिनुभयो । उहाँका अनुसार केही प्रतिवादीले सजाय भुक्तान गरी र जरिवाना तिरेर घर फर्किसकेका छन् भने केही अझै सजाय भोगिरहेको अवस्थामा रहेका छन् ।