काठमाडौँ, माघ ३ गते। तामाङ समुदायले २८६२औं सोनाम ल्होछार टुँडिखेलमा मनाउने भएको छ। तामाङ समुदायले सोनाम ल्होसार माघ ५ गते टुँडिखेलमा मनाउन लागेको हो।
नेपाल तामाङ घेदुङका महासचिव जगतमान लामा दोङले मञ्जुश्री सम्वत् २८६२ सोनाम ल्होछार ता ल्हो (घोडा वर्ष) तामाङ जातिको विशिष्ट परम्परा रहेको बताउनुभयो।
उहाँले माघ ५ गते प्रधानमन्त्री सुशीला कार्कीको प्रमुख आतिथ्यतामा टुँडिखेलमा कार्यक्रम हुने जानकारी गराउनुभयो। महोत्सवमा तामाङ जातिको सांस्कृतिक संस्था ताम्बा, बोन्बो तथा लामाको विशेष सांस्कृतिक झाँकी प्रदर्शन, परम्परागत गीत, नृत्यको साथमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा चर्चित तथा ख्याती प्राप्त कलाकारहरूको प्रस्तुति रहनेछ।
यो गणितमा आधारित ल्हो परम्परा तामाङ संस्कृतिकै अभिन्न नयाँ वर्ष रहेको उहाँको भनाइ छ।
सोनाम ल्होछार पर्व माघ शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म विभिन्न गुम्बा, घर–घरमा पूजा गर्ने प्रसाद वितरण गर्ने, शुभकामना आदानप्रदान गर्ने, मान्यजनबाट आर्शीवाद ग्रहण गर्ने, चेलीबेटी, इष्टमित्र, कुटुम्बको भेटघाट र सामूहिक प्रितिभोज र साँस्कृतिक कार्यक्रम गरेर मनाउने परम्परा छ।