• ३ माघ २०८२, शनिबार

विश्वकपलाई देशले गर्व गर्न लायक बनाउँछौं : कप्तान रोहित

blog

कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेल। तस्बिरः क्यान

काठमाडौँ, माघ ३ गते । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले आगामी आइसिसी टी–२० विश्वकपका लागि तयारी राम्रो भइरहेको र देशलाई गर्व गर्न लायक प्रदर्शन गर्ने बताएका छन् । 

आगामी फेब्रुअरी ७ देखि मार्च ८ तारिखसम्म भारत र श्रीलङ्कामा संयुक्त रूपमा टी–२० विश्वकप आयोजना हुँदैछ । सोही विश्वकपको तयारी लागि नेपाली टोली आइतबार श्रीलङ्का प्रस्थान गर्दैछन् ।  नेपाली टोलीले श्रीलङ्का ‘ए’ सँग तीन वटा टी–२० खेल खेल्ने छन् ।

 नेपाल क्रिकेट सङ्घ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले श्रीलङ्का ‘ए’ को टोली राम्रो हुने श्रीलङ्का क्रिकेटले आश्वासन दिएको बताए । 

विश्वकपअघि नेपाली टोलीले भारत र श्रीलङ्कामा गरेर कुल १२ दिनको तयारी गर्ने छ । नेपाली टोलीका कप्तान रोहितले यो तयारी पर्याप्त र राम्रो हुने भएकाले यसपल्टको विश्वकपमा देशले गर्व गर्न लायक प्रदर्शन गर्ने बताउनु भएको हो ।


नेपाल प्रिमियर लिग (एनपिएल) पछि केही दिन विश्राम लिए पनि तयारी सुखद् रहेको उल्लेख गर्नु भयो । तेस्रोपल्ट विश्वकप खेल्न आफ्नो टोली उत्साहित रहेको उहाँको भनाइ छ । अमेरिका र वेस्ट इन्डिजमा सम्पन्न पछिल्लो विश्वकपमा ब्याटिङका लागि पिच सहज नहुँदा रन बनाउन सबैलाई कठिन भएको रोहितले उल्लेख गर्नु भयो । 

विश्वकपमा वाङ्खडेमा ‘हाइ स्कोरिङ’ पिच भएकाले ब्याटरलाई सहज हुने उहाँको भनाइ छ। यो पिचका लागि बलरले पनि राम्रो तयारी गर्नु पर्ने उहाँको भनाइ छ । नेपाली टोलीले चारै खेल वाङ्खडेमा खेल्ने तालिका छ । 

विश्वकप अगाडि नेपाली टोलीले दुई अभ्यास खेल वाङ्खडेभन्दा एक किलोमिटर मात्र टाढा रहेको बारबोर्न क्रिकेट स्टेडियममा (क्रिकेट क्लब अफ इन्डिया) खेल्ने छ । 

यो अभ्यास खेलले वाङ्खडेको कन्डिसनमा झिज्न नेपाली टोलीलाई मद्दत पुर्‍याउने छ । नेपाली टोलीका मुख्य प्रशिक्षक स्टुआर्ट लले भारत र श्रीलङ्कामा हुने अभ्यासमा नेपाली टोलीलाई विश्वकप लक्षित भूमिकामा तयार बनाउने बताउनु भयो । 


विश्वकप खेल्नु खेलाडीसँगै प्रशिक्षक र म्यानेजमेन्टका लागि पनि गर्वको क्षण रहेको उल्लेख गर्दै उहाँले नेपालले गर्व गर्ने विश्वकप हुने आशा व्यक्त गर्नु भएको छ । उहाँले पछिल्ला तीन हप्तादेखि विश्वकपका लागि तयारी पनि गरेको उल्लेख गर्नु भयो।