प्रेमराज सिम्खडा
कालीकोट, माघ ३ गते । कालीकोटको जिल्लाको शुभकालिका गाउँपालिका–४, कुडीमा बोलेरो जिप दुर्घटना हुँदा मृत्यु भएका तीन जनाको सनाखत भएको छ।
शुक्रबार साँझ सेरीपान्तडी भित्री सडकखण्डको कुडीबाट बोलेरो जिप तिला नदीमा खस्दा तीन जनाको घटनास्थलमै मृत्यु भएको हो। हुल्म सेरीघाटबाट शर्मिला कन्टक्सनको इन्धनसहित कामदार लिएर शुभकालिका जाँदै गरेको भे. १ च. २८९८ नम्बरको बोलेरो जिप दुर्घटना भएको हो।
जिल्ला प्रहरी कार्यालय कालीकोटका अनुसार दुर्घटनामा दैलेखको आठबिस नगरपालिका साइगाउँका २८ वर्षीय शङ्कर कठायत, अछामका २७ वर्षीय देपेन्द्र शाही र शुभकालिका गाउँपालिका वडा नं २ निवासी २५ वर्षीय नमराज शाहीको मृत्यु भएको हो।
शङ्कर र देपेन्द्र कम्पनीका स्काभेटर चालक र नमराज शाही हेल्पर रहेको प्रहरीले जनाएको छ। शव पोस्टमाटमका लागि जिल्ला अस्पताल कालीकोटमा पठाएको छ।
बोलेरो चालक दैलेख चामुण्डाबिन्दासैनी नगरपालिका–१ का २० वर्षीय हीरासिहं थामी मगरलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ। जिपमा चालकसहित चार जना मात्र रहेको पुष्टि भएको छ।