संयुक्त राष्ट्र, न्यूयोर्क, माघ ३ गते । संयुक्त राष्ट्र र गाजामा काम गर्ने सहयोगी संस्थाले विद्यालय सामग्रीमा लागेको प्रतिबन्ध हटाएर बढी बालबालिकाले सहज रूपमा शिक्षा पाउन सकुन् भनी आग्रह गरेका छन् । मानवतावादी निकायले शुक्रबार यस सम्बन्धमा आफ्नो चिन्ता सार्वजनिक गरेको हो ।
मानवतावादी समन्वय कार्यालयले बालबालिकालाई विद्यालयमा फर्काउने र जाडो मौसमका कारण पिडित भएका मानिसलाई सहयोग गर्ने उद्देश्यले साझेदारसँग मिलेर काम गरिरहेको जनाएको छ । कार्यालयका अनुसार हाल गाजामा ४४० भन्दा बढी शिक्षण स्थल सञ्चालनमा छन् । यसै महिनामा गाजाका १० अस्थायी शिक्षण स्थल पनि मर्मत गरिएको छ ।
जाडो मौसमका कारण आश्रय गुमाएका परिवारलाई सहयोग गर्न कार्यालयले २०० भन्दा बढी टेन्ट, हजारौं कम्बल, गर्म कपडा, खाना पकाउने भाँडाकुँडा र सौर्य बत्ती वितरण गरेको छ । यद्यपि, गाजामा अझै १० लाखभन्दा बढी मानिसलाई तुरुन्तै आश्रय सहयोग र दीर्घकालीन समाधान आवश्यक छ । यसमा क्षतिग्रस्त घरको मर्मत र आपतकालीन आश्रय सामग्री उपलब्ध गराउने कुरा समावेश छ । रासस/सिन्ह्वा