• २५ माघ २०८२, आइतबार

प्रथम ॐ कार कपको उपाधि एनएएफसी पोखरालाई

blog

विजेता समूहलाई पुरस्कार प्रदान गरिँदै । तस्बिर : राधाकृष्ण डुम्रे

राधाकृष्ण डुम्रे
वालिङ, माघ ३ गते ।
स्याङ्जाको वालिङमा सञ्चालित प्रथम ॐ कार कप भेट्रान्स सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधि एनएएफसी पोखराले जितेको छ । एनएएफसी पोखराले ट्राई ब्रेकरमा मेजर एफसी पोखरालाई ४–३ गोलअन्तरले पराजित गर्दै उपाधि जितेको हो ।

निकै प्रतिस्पर्धात्मक खेलमा निर्धारित समयमा दुवै पक्षबाट गोल नभएपछि खेल ट्राई ब्रेकरमा पुगेको थियो । पराजयसँगै मेजर एफसी पोखरा उपविजेता बनेको छ । विजेता तथा उपविजेता टिमलाई पुरस्कार वितरण गर्दै वालिङ नगरपालिका निर्वतमान नगर प्रमुख दिलिपप्रताप खांणले खेल सबै उमेर समूहका लागि उत्तिकै महत्त्वपूर्ण भएको बताउनु भयो । उहाँले भन्नु भयो, “भेट्रान्स समूहका लागि आयोजित फुटबल प्रतियोगिताले खेल हरेक उमेर समूहका लागि महत्त्वपूर्ण छ भन्ने देखायो ।”

प्रतियोगितामा स्याङ्जासहित बुटवल, पोखरा, पाल्पाका नौं समूहको सहभागिता रहेको थियो । खेलमा ५० वर्षमाथिका अनिवार्य एक जनासहित अरू ४० वर्षभन्दा माथिका खेलाडीहरूको सहभागिता रहेको थियो ।

प्रतियोगितामा प्रथम भएको एनएएफसी पोखराले एक लाख रुपियाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने द्वितीय भएको मेजर एफसी पोखराले पचास हजार रुपियाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको ॐ कार ईभेन्टस् हब वालिङ अध्यक्ष विजय मल्लले जानकारी दिनुभयो ।