• ३ माघ २०८२, शनिबार

स्याङ्जाका दुबै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

blog

स्याङ्जाको वालिङ नगरपालिका परिसरमा निर्वाचन क्षेत्र नं. २ को कार्यालय स्थापना गरिँदै । तस्बिर : राधाकृष्ण डुम्रे

राधाकृष्ण डुम्रे
वालिङ (स्याङ्जा), माघ ३ गते ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि स्याङ्जाका दुबै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।

सदरमुकाम स्याङ्जामा मुख्य निर्वाचन अधिकृतको कार्यालय र वालिङमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो ।

निर्वाचनमा उम्मेदवारहरुको उम्मेदवारी दर्ता, निर्वाचनका लागि कर्मचारी परिचालन, निर्वाचनसम्बन्धी सामग्रीको व्यवस्थापन तथा भण्डारण, निर्वाचनको प्रशासनिक काम–कारवाही, मतगणना लगायत निर्वाचनसँग सम्बन्धित सम्पूर्ण कामहरु सञ्चालन गर्न निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको जिल्ला अदालत स्याङ्जाका न्यायाधीश एवम् मुख्य निर्वाचन अधिकृत उपेन्द्रप्रसाद गौतमले बताउनुभयो ।  

जिल्ला समन्वय समितिको परिसरमा मुख्य निर्वाचन अधिकृतको कार्यालय र वालिङ नगरपालिकाको कार्यालय परिसरमा क्षेत्र नं. २ को निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएसँगै निर्वाचनको आवश्यक तयारी औपचारिक रुपमा यसै कार्यालयमार्फत गरिने बताईएको छ ।

स्याङ्जामा मुख्य निर्वाचन अधिकृतको रुपमा जिल्ला अदालत स्याङ्जाका न्यायाधीश उपेन्द्रप्रसाद गौतम तथा क्षेत्र नं. २ का लागि कानुन उपसचिव ऋषि पौडेल निर्वाचन अधिकृत रहनु भएको छ ।

फागुन २१ गते हुने सङ्घीय निर्वाचनमा स्याङ्जामा दुई लाख ४८ हजार ८१६ ले मतदान गर्न पाउने भएका छन् ।

निर्वाचनमा यहाँ पुरुष मतदाता एक लाख २२ हजार ४६४, महिला मतदाता एक लाख २६ हजार ३५१ र अन्य समूहका एक जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय स्याङ्जाका प्रमुख श्रीराम थापाले जानकारी दिनुभयो ।

२०७९ सालमा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको तुलनामा यसपटक मतदाताको सङ्ख्या चार हजार ७२७ ले बढेको थापाले बताउनुभयो । दुई निर्वाचन क्षेत्र रहेको यहाँ क्षेत्र नं –१ मा एक लाख ३० हजार ८८६ र क्षेत्र नं –२ मा एक लाख १७ हजार ९३० जना मतदात रहेका छन् ।

यस्तै जिल्लाभर १९९ मतदानस्थल रहेकोमा ३२२ मतदान केन्द्र रहेका छन् । गत निर्वाचनको तुलनामा यसपटक मतदान केन्द्र सङ्ख्या दुई वटाले बढेको हो ।