• ३ माघ २०८२, शनिबार

भूकम्पले क्षतिग्रस्त आवासको क्षति आँकलन अन्तिम चरणमा

blog

भूकम्पपीडित नागरिकको घरमै पुगेर विस्तृत क्षति आँकलन गर्दै प्राविधिक कर्मचारी । तस्बिरः शंकर केसी

शंकर केसी
सल्यान, माघ ३ गते ।
सल्यानको दार्मा गाउँपालिकामा भूकम्पपछि गरिएको विस्तृत क्षति आँकलन कार्य अन्तिम चरणमा पुगेको छ । गाउँपालिकाका अनुसार हालसम्म तीन हजार १४४ घरधुरीको क्षति विवरण सङ्कलन कार्य सम्पन्न भइसकेको छ ।

पुनर्निर्माणका लागि  प्राधिकरण पोर्टलमा प्रविष्टि भएका चार हजार ४७ घरधुरीमध्ये शनिबारसम्म तीन हजार १४४ घरको क्षति आँकलन सम्पन्न भएको गाउँपालिका अध्यक्ष निमबहादुर केसीले जानकारी दिनुभयो । उहाँका अनुसार अब ९३० घरधुरीको क्षति विवरण सङ्कलन हुन बाँकी रहेको छ भने बाँकी कार्य पनि एक हप्ताभित्र सम्पन्न गर्ने लक्ष्य लिइएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पालिकाका प्राविधिकलाई तालिम दिएपछि गत मङ्सिर १५ देखि दार्मामा काम सुरु भएको थियो ।

वडागत रूपमा हालसम्म वडा नं. १ मा ४५०, वडा नं. २ मा ५०१, वडा नं. ३ मा ५२२, वडा नं. ४ मा ४६७, वडा नं. ५ मा ७०५ र वडा नं. ६ मा ४९९ घरधुरीको क्षति विवरण सङ्कलन सम्पन्न भएको छ । क्षति विवरण सङ्कलन कार्य पूरा भएपछि भूकम्पबाट प्रभावित घरधुरीलाई राहत, पुनर्निर्माण तथा सहयोग कार्यक्रम अघि बढाउन सहज हुने गाउँपालिकाको भनाइ छ ।

स्थानीय तह तथा जिल्ला प्रशासन कार्यालय सल्यानको निरन्तरको प्रयासपछि सल्यानमा भूकम्पले क्षति गरेको दुई वर्षपछि मात्र काम सुरु भएको थियो । चिसो, गर्मी, अन्य त्रासका साथ अस्थायी टहरामा दिन कटाइरहेका भूकम्पपीडितहरुमा बल्ल अब नयाँ घर बन्छ कि भन्ने आशा पलाएको छ ।

२०८० कात्तिक १७ गतेको जाजरकोट भूकम्पबाट दार्मासहित जिल्लाका अन्य पालिकामा पनि क्षति भएको थियो । बागचौर नगरपालिकामा १५२, कुमाख गाउँपालिकामा १२९, त्रिवेणी गाउँपालिकाका १२ घरमा क्षति पुगेको थियो ।