राजन रावत
हुम्ला, माघ ३ गते । आगामी फागुन २१ हुन लागेको हुने प्रतिनिधि सभा सदस्य पदको निर्वाचनका लागि हुम्ला जिल्लामा निर्वाचन प्रहरीमा मागभन्दा दोब्बर आवेदन प्रहरी कार्यालयमा पेश भएका छन् । माघ १ गतेसम्म निर्वाचन प्रहरी भर्नाका लगि मागिएको आवेदनमा धेरै युवायुवतीहरुले आफ्नो आवेदन पेश गरेका हुन् ।
निर्वाचन भर्नाका लागि आवेदन माग गरिएको भन्द दोब्बर निवेदन पेश भएको प्रहरी निरीक्षक बिष्णु श्रेष्ठले बताउनभयो । निर्वाचन प्रहरी भर्नाका लागि आवेदन मागिएको अन्तिम दिनसम्म एक हजार २१६ जनाले आवेदन पेश भएको उहाँले बताउनुभयो ।
यसमा पुरुष ९०४ र महिला ३१२ जनाको आवेदन परेको छ । खास निर्वाचन प्रयोजनका लागि हुम्ला जिल्लामा ५९५ जना निर्वाचन प्रहरी भर्नाका लागि आवेदन माग गरिएको थियो । यसमा ५४९ जना नेपाल प्रहरीतर्फ र ४६ जना सशस्त्र प्रहरीतर्फ निर्वाचन प्रहरी भर्ना गर्न लागिएको हो ।
गत पुस २५ गतेबाट माघ १ गतेसम्म भर्नाका लागि आवेदन लिन सुरु गरिएको थियो । छनोट माघ ५ देखि ९ गतेसम्म हुने र अन्तिम नतिजा माघ १२ गते प्रकाशित हुने छ भने माघ १५ बाट २५ गतेसम्म अभ्याससहितको प्रशिक्षण हुनेछ । निर्वाचन प्रहरी चालीस दिनका लागि भर्ना गरिनेछ । हुम्लामा आसन्न निर्वाचनका लागि ६० वटा मतदान स्थल र ६४ मतदान केन्द्र निर्धारण गरिएका छन् । प्रतिनिधि सभातर्फ ए निर्वाचन क्षेत्र रहेको हुम्लामा ६० वटा मतदानस्थल र ६४ मतदान केन्द्र कायम गरिएको छ । जिल्ला सुरक्षा समितिले भौगोलिक अवस्था र सुरक्षाका हिसाबले २५ वटा अति संवेदनशील, २१ वटा संवेदनशील र दस वटा मतदानस्थललाई समान्य रुपमा र्गिकरण गरेको छ ।