• ३ माघ २०८२, शनिबार

निर्वाचन अधिकृतको कार्यालय स्थापना

blog

मुख्य निर्वाचन अधिकृतको कार्यालय औपचारिक रूपमा उद्घाटनमा सहभागी ।

फडिन्द्र अधिकारी 

लेखनाथ, माघ ३ गते  । प्रतिनिधि सभा निर्वाचनका लागि कास्कीका तीन वटै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । कास्कीका मुख्य निर्वाचन अधिकृत हिमलाल बेल्बासेले शुक्रबार ती कार्यालय औपचारिक रूपमा उद्घाटन गर्नुभयो ।

बेल्बासेले कानुनको शासन र जनताको वास्तविक प्रतिनिधित्व सुनिश्चित गर्न निष्पक्ष निर्वाचन अनिवार्य रहेकोमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “जनताका प्रतिनिधिले निर्माण गरेका कानुनबाट शासित हुनु नै वास्तविक लोकतन्त्र हो । असोज ६ गते उम्मेदवारी मनोनयन आइसकेको छ । हामीले त्यसको तयारी गरिसकेका छौँ ।” राजनीतिक दल निर्वाचन प्रक्रियाको मुख्य संवाहक भएको उल्लेख गर्दै उहाँले पत्रकार र नागरिक समाजलाई तथ्यपरक सूचना सम्प्रेषणमार्फत निर्वाचनलाई सफल बनाउन आग्रह गर्नुभयो । 

निर्वाचन आयोगले कास्की जिल्ला अदालतका न्यायाधीश बेल्बासेलाई प्रमुख निर्वाचन आयुक्त नियुक्त गरेको थियो । कास्की निर्वाचन क्षेत्र नम्बर १ का लागि पोखरा–१२ स्थित पशुपन्छी अनुसन्धान विकास तथा परीक्षण केन्द्रमा निर्वाचन अधिकृतको कार्यालय खोलिएको छ । क्षेत्र नम्बर १ मा सीता रेग्मी निर्वाचन अधिकृत तोकिनुभएको छ । 

क्षेत्र नम्बर २ को कार्यालय पोखरा महानगरपालिका–१७, ड्यामसाइडस्थित सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजनाको कार्यालयमा स्थापना गरिएको छ । यस क्षेत्रको निर्वाचन अधिकृतमा निर्मलाकुमारी खड्का हुनुहुन्छ । कास्कीको निर्वाचन क्षेत्र नम्बर ३ को निर्वाचन अधिकृतको कार्यालय तथा मुख्य निर्वाचन अधिकृतको कार्यालय कृषि, भूमि व्यवस्था तथा सहकारी विकास मन्त्रालयमा स्थापना गरिएको हो । 

गण्डकी प्रदेश निर्वाचन कार्यालयका प्रमुख नारायण ढकालले कास्कीमा १५३ मतदान स्थल र ३६३ मतदान केन्द्र तोकिएको जानकारी दिनुभयो । कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले निर्वाचनलाई भयरहित, सुरक्षित र निष्पक्ष बनाउन जिल्लास्तरीय सुरक्षा योजना स्वीकृत गरी कार्यान्वयनमा ल्याइएको बताउनुभयो । कास्कीमा तीन लाख आठ हजार ५७२ मतदाता कायम भएका छन् । 

ढोरपाटन समाचारदाताका अनुसार बागलुङमा पनि मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । निर्वाचन क्षेत्र नं. १ अन्तर्गत रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय सदरमुकामस्थित जिल्ला समन्वय समितिको कार्यालयमा स्थापना गरिएको छ । क्षेत्र नं. २ को ढोरपाटन नगरपालिकास्थित बुर्तिबाङमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । बुर्तिबाङस्थित सहरी विकास कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय राखिएको छ । क्षेत्र नं.–२ को निर्वाचन अधिकृतका रूपमा सर्वोच्च अदालत इजलास अधिकृत भीमप्रसाद सुवेदी खटिनुभएको छ । 

वालिङ समाचारदाता र स्याङ्जा समाचारदाताका अनुसार आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि स्याङ्जाका दुवै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । सदरमुकाम स्याङ्जामा मुख्य निर्वाचन अधिकृतको कार्यालय र वालिङमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो । निर्वाचनमा उम्मेदवारको उम्मेदवारी दर्ता, निर्वाचनका लागि कर्मचारी परिचालन, निर्वाचनसम्बन्धी सामग्रीको व्यवस्थापन तथा भण्डारण, निर्वाचनको प्रशासनिक कामकारबाही, मतगणनालगायत निर्वाचनसँग सम्बन्धित सम्पूर्ण काम सञ्चालन गर्न निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको जिल्ला अदालत स्याङ्जाका न्यायाधीश एवं मुख्य निर्वाचन अधिकृत उपेन्द्रप्रसाद गौतमले बताउनुभयो । जिल्ला समन्वय समितिको परिसरमा मुख्य निर्वाचन अधिकृतको कार्यालय र वालिङ नगरपालिकाको कार्यालयपरिसरमा क्षेत्र नं. २ को निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो । 

मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएसँगै निर्वाचनको आवश्यक तयारी औपचारिक रूपमा यसै कार्यालयमार्फत गरिने बताइएको छ । स्याङ्जामा मुख्य निर्वाचन अधिकृतका रूपमा जिल्ला अदालत स्याङ्जाका न्यायाधीश उपेन्द्रप्रसाद गौतम तथा क्षेत्र नं. २ का लागि कानुन उपसचिव ऋषि पौडेल निर्वाचन अधिकृत रहनुभएको छ । 

मुस्ताङ समाचारदाताका अनुसार आगामी निर्वाचनका लागि मुस्ताङमा शुव्रmबार मुख्य निर्वाचन अधिकृतको कार्यालय औपचारिक रूपमा स्थापना गरिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय जिल्ला अदालतका न्यायाधीश विद्याराज पौडेलले उद्घाटन गर्नुभयो । जिल्ला निर्वाचन अधिकृत लोकेन्द्र ज्ञवालीले जिल्लाभित्रका मतदान स्थलसहित हालसम्म गरिएको कामबारे जानकारी गराउनुभएको थियो । 

बेनी समाचारदाताका अनुसार आगामी निर्वाचनका लागि म्याग्दीको बेनीमा शुव्रmबार मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । निर्वाचनमा उम्मेदवारको उम्मेदवारी दर्ता, निर्वाचनका लागि कर्मचारी परिचालन, निर्वाचनसम्बन्धी सामग्रीको व्यवस्थापन तथा भण्डारण, निर्वाचनको प्रशासनिक कामकारबाही, मतगणनालगायत निर्वाचनसँग सम्बन्धित सम्पूर्ण काम सञ्चालन गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो । 

जिल्ला समन्वय समितिको परिसरमा रहेको पूर्वाधार विकास कार्यालयको माथिल्लो तलामा स्थापना गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयको जिल्ला अदालत म्याग्दीका न्यायाधीश एवं मुख्य निर्वाचन अधिकृत सूर्यबहादुर थापा र प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्यले संयुक्त रूपमा उद्घाटन गर्नुभयो । मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएसँगै निर्वाचनको आवश्यक तयारी औपचारिक रूपमा कार्यालयमार्फत गरिने जिल्ला निर्वाचन कार्यालय म्याग्दीका निर्वाचन अधिकारी विमलप्रसाद गौतमले जानकारी दिनुभयो । प्रमुख जिल्ला अधिकारी आचार्यले निर्वाचनलाई स्वच्छ, मर्यादित, भयरहित र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न सबैले सकारात्मक भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो । 

सुलीकोट समाचारदाता गुणबहादुर रोकाका अनुसार गोरखामा शुव्रmबार मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । निर्वाचन व्यवस्थापनलाई व्यवस्थित र प्रभावकारी बनाउन शुक्रबार गोरखामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो । जिल्लामा दुई वटा निर्वाचन क्षेत्रमध्ये जिल्ला समन्वय समितको परिसरमा गोरखा क्षेत्र नम्बर १ को कार्यालय स्थापना गरिएको छ भने क्षेत्र नम्बर २ भूसंरक्षण कार्यालयमा स्थापना गरी निर्वाचनसँग सम्बन्धित सम्पूर्ण कार्य सञ्चालन गरिने भएको छ । गोरखा क्षेत्र नम्बर १ को उम्मेदवारको उम्मेदवारी दर्ता, निर्वाचन कर्मचारीको परिचालन, मतदान सामग्रीको व्यवस्थापन तथा सुरक्षित भण्डारण, निर्वाचनसम्बन्धी प्रशासनिक कामकारबाहीदेखि मतगणनासम्मका सबै प्रव्रिmया जिल्ला समन्वय समितिको कार्यालयमार्फत अघि बढाइने जनाइएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयको उद्घाटन जिल्ला अदालत गोरखाका न्यायाधीश एवं मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद गौतमले गर्नुभएको थियो । उद्घाटन कार्यव्रmममा बोल्दै उहाँले स्वतन्त्र, निष्पक्ष पारदर्शी र भयरहित वातावरणमा सम्पन्न गर्न सबै सरोकारवालाको सहयोग अपरिहार्य रहेको बताउनुभयो । 

नवलपरासी समाचारदाता होमराज रानाभाटका अनुसार पूर्वी नवलपरासीको कावासोतीमा निर्वाचन कार्यालय खोलिएको छ । निर्वाचन आयोगले कमलप्रसाद ज्ञवालीलाई मुख्य निर्वाचन अधिकृत र सीता अधिकारीलाई निर्वाचन अधिकृतमा नियुक्त गरेको छ । निर्वाचन कार्यालयको जिल्ला न्यायाधीश एवं मुुख्य निर्वाचन अधिकृत ज्ञवालीले उद्घाटन गर्दे निर्वाचनलाई सफल बनाउन सबैको भूमिका बराबर हुुने बताउनुुभयो । निर्वाचन आयोगले शुक्रबारदेखि लागु हुने गरी प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ८ बमोजिम जिल्ला निर्वाचन कार्यालय सञ्चालनमा ल्याएको प्रमुुख जिल्ला अधिकारी भविश्वर पाण्डेले बताउनुुभयो ।