• ३ माघ २०८२, शनिबार

रगतका लागि सेना प्रहरीकै भर

blog

मुगु समाचारदाता

मुगु, माघ ३ गते । जिल्ला अस्पताल मुगुमा  रक्त सञ्चार केन्द्र (ब्लड बैङ्क) नहुँदा बिरामीलाई निकै समस्या हुने गरेको छ । अपरेसन गरेर बच्चा जन्माउन सक्ने सुविधा जिल्ला अस्पतालमा भए पनि रगतको अभावमा बिरामीलाई रेफर गर्नुपर्ने बाध्यता छ । जिल्ला अस्पताल मुगुका प्रमुख डा. निर्मल नगरकोटीले सुत्केरी हुन आउने महिलामध्ये केहीको अपरेसन गरेर बच्चा जन्माउनुपर्ने हुँदा रगतको अभावमा उनीहरूलाई अन्यत्र रेफर गर्नुपर्ने बाध्यता रहेको बताउनुभुयो । उहाँले भन्नुभयो, “रगतको सुनिश्चित नहुँदासम्म अपरेसन गर्न निकै चुनौतीपूर्ण हुने गरेको छ ।” 

जिल्ला अस्पताल मुगुमा अपरेसनका लागि जिल्लाका मात्रै नभएर छिमेकी जिल्ला हुम्लाका समेत बिरामी आउने गरेको तर रगतकै अभावमा धेरैलाई रेफर गर्नुपर्ने बाध्यता रहिआएको उहाँले जनाउनुभयो । अझै पनि रगतका लागि नेपाली सेना, प्रहरी र सशस्त्र प्रहरीका साथै सामाजिक अभियन्ताको भर पर्नुपर्ने अवस्था छ । जिल्ला अस्पतालमा रक्तसञ्चार केन्द्र नभएकै कारण सेवाग्राहीले समस्या भोग्नु परिरहेको छायानाथ रारा नगरपालिका–१४ का स्थानीय नन्दबहादुर बुढाले जानकारी दिनुभयो । 

जिल्ला अस्पताल मुगुमा रगतको अभाव हुँदा जुम्ला, सुर्खेत, नेपालगन्ज र काठमाडौँमा गएर उपचार गर्नुपर्ने बाध्यता रहिआएको उहाँले जानकारी दिनुभयो ।