नवराज नेपाली
बागलुङ (गलकोट) माघ ३ गते । बागलुङका दुई स्थानमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र न. १को बागलुङ जिल्ला समन्वय समितिको कार्यालयको भवनमा र क्षेत्र न. २को बुर्तिबाङमा रहेको नयाँ शहरी विकास कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।
निर्वाचन क्षेत्र न. १ निर्वाचन अधिकृतको कार्यालय स्थापनामा बोल्दै मुख्य निर्वाचन अधिकृत सीता शर्मा अधिकारीले कार्यालयको औपचारिक शुभारम्भ गर्नुभएको थियोे ।
जिल्ला न्यायाधीश तथा मुख्य निर्वाचन अधिकृत अधिकारीले निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्नका लागि सहयोग गर्न जिल्लास्थित राजनीतिक दलहरु, नागरिक समाज, सुरक्षा निकाय, पत्रकार लगायत सरोकारवालाहरुसँग आह्वान गर्नुभएको थियोे ।
‘‘मुलुक निर्वाचनमा होमिएको छ, सरकार निर्वाचन गराउने कार्यमा अग्रसर भएर प्रक्रिया अगाडि बढाइसकेको छ । निर्वाचनमा उम्मेदवारी दर्ता गराउनेहरुले सम्पत्ति विवरण लगायत थप विवरणहरु समेत बुझाउनु पर्नेछ’’ मुख्य निर्वाचन अधिकृत अधिकारीले भन्नुभयो, ‘‘निर्वाचनलाई सफल बनाउनु हामी सबैको जिम्मेवारी हो भन्ने कुरामा सरोकारवालाहरुको ध्यान जाने अपेक्षा लिएको छु ।’’
प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले सरकारका तर्फबाट गर्नु पर्ने काम र शान्ति सुरक्षामा कुनै कमि आउन नदिने बताउनुभयो ।
चार पालिका रहेको निर्वाचन क्षेत्र न. १ मा ३७ वटा वडामा ९८ हजार ४६ मतदाता, ४८ वटा मतदान स्थल र एक सय १५ मतदान केन्द्र रहने जिल्ला निर्वाचन कार्यालय बागलुङका निर्वाचन अधिकारी यज्ञ प्रसाद रिजालले बताउनुभयो ।
क्षेत्र नं. २ मा ६ वटा पालिकामा ९५ हजार ३३५ मतदाता, एक सय १५ मतदान केन्द्र रहने र क्षेत्र नं. २ को निर्वाचन अधिकृत भीम प्रसाद सुवेदी रहेको बताइएको ।