• ३ माघ २०८२, शनिबार

बैतडीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

blog

केशव राज भट्ट
वाशुलिङ बैतडी, माघ ३ गते ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बैतडीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।

जिल्ला अदालत बैतडीमा शुक्रबार मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको जिल्ला निर्वाचन कार्यालय बैतडीका प्रमुख खगेन्द्र भारतीले जानकारी दिनुभयो । निर्वाचन आयोगको स्वीकृत कार्य तालिका अनुसार कार्यालय स्थापना गरिएको उहाँले बताउनुभयो ।

मुख्य निर्वाचन अधिकृत तीर्थराज भट्ट, प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेल, जिल्ला निर्वाचन कार्यालयका प्रमुख खगेन्द्र भारती तथा जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरूको उपस्थितिमा कार्यालय स्थापना गरिएको हो ।

प्रतिनिधिसभाका लागि बैतडीमा एक मात्र निर्वाचन क्षेत्र रहेकाले उम्मेदवारको मनोनयन दर्तालगायत सम्पूर्ण निर्वाचनसम्बन्धी काम मुख्य निर्वाचन अधिकृतको कार्यालयमार्फत हुने निर्वाचन कार्यालयले जनाएको छ ।

जिल्लामा हाल एक लाख ५६ हजार ३७२ मतदाता रहेका छन् । जसमा ७८ हजार ९८७ पुरुष, ७७ हजार ३८३ महिला र दुई जना अन्य मतदाता रहेका छन् । अघिल्लो निर्वाचनको तुलनामा मतदाता सङ्ख्या ६ हजार २१६ ले वृद्धि भएको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी नरेश दयालले जानकारी दिनुभयो । यसअघि एक लाख ५० हजार १५६ मतदाता रहेका थिए ।

निर्वाचन आयोगका अनुसार माघ ६ गते बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता हुनेछ । सोही दिन उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन गरिनेछ ।

कार्यतालिका अनुसार माघ ७ गते उम्मेदवारीमाथि दाबी–विरोध दर्ता गरिनेछ भने माघ ८ गते दाबी–विरोधउपर जाँचबुझ गरी निर्णय गरिनेछ । माघ ९ गते उम्मेदवारको नामावली संशोधनसहित प्रकाशन गरिने आयोगले जनाएको छ ।

यस्तै माघ १० गते उम्मेदवारी फिर्ता लिने समय तोकिएको छ । सोही दिन अन्तिम नामावली प्रकाशन गरिनेछ भने माघ ११ गते उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिने कार्यक्रम रहेको छ ।