रामकृष्ण बोहरा
बागलुङ, माघ ३ गते । मानवसेवा आश्रम बागलुङले आर्थिक वर्ष २०८१/०८२ को सामाजिक लेखा परीक्षण सम्पन्न गरेको छ । एक कार्यक्रमबिच आश्रमले आर्थिक वर्षभरी गरेको कामको समीक्षासहित जानकारी गराएको हो ।
आश्रमले गत आ.व.मा एक करोड १३ लाख ५६ हजार रुपियाँको सञ्चित कोष बनाएको, चालु वर्ष पनि १८ लाख रुपियाँ सञ्चित कोषमा थप गरेको छ । आश्रमले गत असारसम्मको खर्च सार्वजनिक गर्दै ८७ लाख ७१ हजार सेवा योगदान भएकोमा सोही अवधिमा ६९ लाख ६६ हजार सेवा खर्च भएको जनाएको छ ।
पूँजिगततर्फ आ.व. २०८१/०८२ मा ६६ लाख ७७ हजार तीन सय १६ रुपियाँ आम्दानी भएकोमा ८९ लाख ९० हजार खर्च भएको छ । आयश्रोत बाहेक सञ्चित कोषबाट आश्रमको पूर्वाधारतर्फ खर्च गरिएको हो ।
आश्रममा गत असार मसान्तसम्म १६ लाख २७ हजार रुपियाँ अक्षयकोष रहेको छ । गत कात्तिकमा लगाइएको महायज्ञमा भने झण्डै नौ करोड रुपियाँ अक्षयकोष थप भएको छ । त्यो हिसाब भने यो सामाजिक परीक्षणमा समावेश गरिएको छैन । पारदर्शी लेखा परीक्षणकै कारण आश्रम व्यवस्थित बन्दै गएको सरोकारवालाको भनाइ थियो ।
आश्रमको संयुक्त रुपमा गत वर्षको सञ्चित मौज्दात एक करोड १३ लाख ५६ हजार रुपियाँ रहेको बताइएको छ । आश्रमका लागि सरकारी निकायबाट २३ लाख ४६ हजार रुपियाँ आम्दानी भएको छ । जसमा सामाजिक विकास कार्यालयले २१ लाख, मोदी गाउँपालिकाले ९८ हजार र फलेवास नगरपालिकाबाट एक लाख ४७ हजार रुपियाँ सहयोग प्राप्त भएको आश्रमकी सञ्चालक बिपना तामाङले जानकारी दिनुभयो । तामाङले छिट्टै आश्रमलाई आफ्नै भवनमा सञ्चालन गर्ने र थप पारदर्शी बनाउने बताउनुभयो ।
सामाजिक लेखा परीक्षणको क्रममा आश्रममा आश्रितहरुको अवस्था जानकारी गराइएको थियो । अहिलेसम्म बागलुङ शाखाबाट एक सय तीन जना पुरुष र एक सय २३ जना महिला गरी दुई सय २६ जनाको उद्धार गरिएकोमा ४८ जनाको पुर्नमिलन भएको छ । ३२ जनाको निधन भएको छ भने एक सय जनाले स्वइच्छाले आश्रम छाडेका छन् । हाल आश्रममा ६४ जना रहेकोमा १८ वर्ष मुनिका ७ जना बालबालिका रहेका छन् ।
आश्रमलाई व्यवस्थित बनाउन कालीगण्डकी किनारको निरयघाटमा भवन निर्माण गरिएको छ । निर्माणाधिन भवन पूरा नभएपछि दाताबाट साथ खोजेर महायज्ञको गत कात्तिकमा आयोजना गरिएको हो । अक्षयकोषका लागि उठेको रकमलाई आश्रम सञ्चालनमा खर्च गरिने छ भने भवन पूरा गरेर दुई सय जनासम्मलाई व्यवस्थित रुपमा बस्न लायक बनाउने योजना रहेको महायज्ञ आयोजक समितिका संयोजक सहदेव राजभण्डारीले बताउनुभयो ।
कार्यक्रममा गण्डकी प्रदेशकी सदस्य कुशुम बुढाले आश्रमलाई सरकारको नीतिमा ल्याएर सञ्चालनको पहल गर्ने बताउनुभयो । मानवसेवा आश्रमको कामलाई प्रशंसा गर्दै अझै प्रभावकारी र पारदर्शी बनाउन पहल गर्नुपर्ने उहाँको भनाइ थियो ।