दाङ समाचारदाता
दाङ, माघ ३ गते । घाँटी र टाउकोमा थारू परम्परागत गहना, शरीरमा चोल्या र लेहङ्गा । १२ वर्षीय पूजा चौधरी अचेल अरू दिन झैँ विद्यालय जान होइन, साथीहरूसँग मघौटा नाच्न गाउँमा निस्किनुभएको छ । मघौटा नाच्न दङ्गीशरण गाउँपालिका–३, हेकुलीकी पूजा गाउँका गल्ली गल्ली डुल्दै माघको मघौटा नाचमा व्यस्त हुनुहुन्छ । पूजासँगै १३ वर्षीय सृष्टि चौधरी पनि तालमा ताल मिलाउँदै नाचिरहनुभएको छ । पूजा र सृष्टिलाई मनीषा चौधरीले मादलको तालले नचाइरहनुभएको छ । दुईतर्फबाट एकातिर केटा र अर्काेतर्फबाट केटी साथी मघौटा गीत गाउँदै साथ दिइरहेका छन् ।
बाबाकी सगरवा मुरिया लहान गैनु हाँ,
बाबाकी सगरवा सखिए हो,
टोपिया छुटल पानी घाट, सखिए हो
यही गीतको भाकासँगै नाच्दै उहाँहरूको समूह घर घर पुग्छ । बालबालिका मात्रै होइन, उहाँहरूका बुवा–आमा, हजुरबुवा–हजुरआमासमेत मघौटा नाचमा सहभागी देखिन्छन् । हेकुलीगाउँ सँगसँगै अहिले दाङका अधिकांश थारू बस्ती माघ पर्वको उल्लासले भरिएका छन् । माघको चिसो मौसमलाई छिचोल्दै बालबालिकादेखि वृद्धवृद्धासम्म मघौटा नाच्दै माघ मनाइरहेका छन् । मादल र झ्यालीको तालसँगै गुन्जिने मघौटा गीतले थारू बस्ती जीवन्त बनेका छन् । पछिल्लो समय युवा पुस्ता डिजे र आधुनिक मनोरञ्जनतर्फ आकर्षित भइरहेका बेला यी साना साना नानीहरू भने आफ्नो मौलिक कला र संस्कृतिमा रमाइरहेका छन् । उहाँहरूको नाचले सिङ्गो गाउँको ध्यान तानेको छ । ती बालबालिकाको परम्परागत शैलीमा गीत गाउँदै नाच्न लागेको देखेपछि गाउँले रोकिन्छन् । ती बालबालिकाको नाचले हेकुलीगाउँ मात्र होइन, सडकमा हिँडिहरका मानिसको पनि पनि ध्यान तानेको छ । यी भाइबहिनीका लागि मघौटा नाच मनोरञ्जनका लागि मात्रै नभई आफ्नो संस्कृति सिक्ने पाठशालाका रूपमा पनि विकास भइरहेको स्थानीय अगुवा एवं दङ्गीशरण गाउँपालिकाका पूर्वअध्यक्ष भागिराम चौधरीले बताउनुभयो ।
“यसले मौलिक परम्परा, संस्कृति, संस्कार सिक्ने, सिकाउने र पुस्तान्तरणसँगै जीवन्त राख्नेमा सहयोग पु¥याउँछ,” उहाँले भन्नुभयो, “त्यस कारण पनि गाउँमा रहेका बालबालिका आफ्नो परम्परागत, संस्कृति, वेशभूषा, मौलिक गीतको भाकामा हुर्किरहेका छन् ।” जसले गर्दा युगौँयुगसम्म संस्कृति, सस्कार र पहिचानलाई जोगानमा सहयोग पुग्ने गरेको उहाँले बताउनुभयो । पूजा, सृष्टि र मनीषाको नाच एउटा उदाहरण मात्र हो । यतिबेला थारू समुदायका बालबालिका आआफ्नो गाउँमा मघौटा नाच्दै रमाइरहेका छन् । माघ पर्वमा मादल र झ्यालीको तालमा मघौटा भाकाको गीत गाउँदै नाच्दै शुभकामना साटासाट गर्ने पुरानो चलन रहेको दङ्गीशरण–३, हेकुलीका कालुराम चौधरीले बताउनुभयो । मघौटा नाच्न आउने समूहलाई घरधनीले ढिक्री, घोँगी, सुँगुरको मासु, अनदीको रोटी, जाँडरक्सी खुवाउने र खुसी अनुसार दक्षिणा दिएर पठाउने परम्परा रहेको उहाँ बताउनुहुन्छ । माघ पर्वमा थारू समुदायले विशेष गरी ढिक्री, घोँगी, माछा, सुँगुरको मासु र घरेलु मदिरा तयार पारेर खाने गर्छन् । गाउँले दाजुभाइलाई बोलाएर सामूहिक भोजन गर्ने परम्पराले आपसी सम्बन्धलाई अझ बलियो बनाउने विश्वास छ ।