• ३ माघ २०८२, शनिबार

सल्यानमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

blog

सल्यानमा स्थापना गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय । तस्बिर : प्रतीक इच्छुक शर्मा

प्रतीक इच्छुक शर्मा
सल्यान, माघ ३ गते ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सल्यानमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । जिल्ला अदालत सल्यानमा एक कार्यक्रमबिच कार्यालयको उद्घाटन गरिएको हो ।

निर्वाचन आयोगले सल्यान जिल्ला अदालतका न्यायाधीश प्रलाहद योगीलाई मुख्य निर्वाचन अधिकृतको जिम्मेवारी दिएको छ । कार्यालय उद्घाटन गर्दै मुख्य निर्वाचन अधिकृत योगीले आयोगको निर्देशनअनुसार निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गराउन आफू प्रतिबद्ध रहेको बताउनुभयो ।

उहाँले निर्वाचनलाई प्रजातन्त्रको मेरुदण्डका रूपमा उल्लेख गर्दै सफल निर्वाचनका लागि सबै पक्षको भूमिका महत्त्वपूर्ण हुने र सबैको सहयोग आवश्यक रहेको बताउनुभयो । कार्यालय स्थापना भएसँगै निर्वाचन कार्यतालिका सार्वजनिक गरी सोहीअनुसार काम अगाडि बढाइने जानकारी पनि दिनुभयो ।

मुख्य निर्वाचन अधिकृत योगीका अनुसार कार्यालयमा सहायक निर्वाचन अधिकृतसहित सात जना कर्मचारी खटाइएको छ भने जिल्ला निर्वाचन कार्यालयसँग समन्वय गरेर काम गरिनेछ । उहाँले भन्नुभयो, “निर्वाचनको विकल्प भनेकै निर्वाचन हो । यसलाई शान्तिपूर्ण, मर्यादित र सौहार्दपूर्ण वातावरणमा सम्पन्न गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालय पूर्ण निष्पक्षताका साथ काम गर्नेछ ।”

उहाँले निर्वाचन कार्यतालिका अनुसार मनोनयन दर्तादेखि मतदान र मतगणनासम्मका सबै प्रक्रिया पारदर्शी ढङ्गले अघि बढाइने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।

उद्घाटन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी महेन्द्र सापकोटा, सुरक्षा निकायका प्रमुखहरू, नेपाल पत्रकार महासंघ सल्यानका अध्यक्ष डिल्लीराज रावतलगायतको उपस्थिति रहेको थियो ।

सल्यानमा मतदाता सङ्ख्या बढ्यो, एक लाख ६२ हजार ४४९ पुगे
आगामी फागुन २१ गते हुने निर्वाचनका लागि सल्यान जिल्लामा एक लाख ६२ हजार ४४९ जना मतदाता कायम भएका छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार यो सङ्ख्या प्रतिनिधिसभा सदस्य निर्वाचन–२०७९ को तुलनामा चार हजार ७४९ ले वृद्धि भएको हो ।

अघिल्लो निर्वाचनमा जिल्लाभर एक लाख ५७ हजार ७०० जना मतदाता रहेका थिए । यसपटक कायम मतदातामध्ये ८३ हजार ३२१ जना पुरुष र ७९ हजार १२८ जना महिला रहेका जिल्ला निर्वाचन अधिकारी धिरेन्द्र भण्डारीले जानकारी दिनुभयो ।

दस स्थानीय तह रहेको सल्यानमा सबैभन्दा बढी मतदाता शारदा नगरपालिकामा २४ हजार ८१८ जना रहेका छन् भने सबैभन्दा कम सिद्धकुमाख गाउँपालिकामा ८ हजार ८४८ जना मतदाता रहेका छन् ।

स्थानीय तहगत विवरणअनुसार बागचौर नगरपालिकामा २३ हजार १२६, बनगाड कुपिण्डे नगरपालिकामा २२ हजार ५९, कपुरकोट गाउँपालिकामा १२ हजार २२५, कालीमाटी गाउँपालिकामा १५ हजार ५५३, कुमाख गाउँपालिकामा १५ हजार ३३७, छत्रेश्वरी गाउँपालिकामा १६ हजार १३७, त्रिवेणी गाउँपालिकामा ११ हजार ५५९ र दार्मा गाउँपालिकामा १२ हजार ४९७ जना मतदाता कायम भएका छन् ।

यसैगरी, आगामी निर्वाचनका लागि जिल्लामा मतदान केन्द्रसमेत थपिएका छन् । अघिल्लो निर्वाचनमा २०२ वटा रहेको मतदान केन्द्र यसपटक तीन वटा थप भई २०५ वटा पुगेका छन् । मतदानस्थल भने ११७ वटै कायम रहेका छन् ।

नयाँ थपिएका मतदान केन्द्रमध्ये छत्रेश्वरी गाउँपालिकाको त्रिभुवन जनता माध्यमिक विद्यालय, लेखचौरपानी, सिद्धकुमाख गाउँपालिकाको नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, छापडाँडा र बनगाड कुपिण्डे नगरपालिकाको आधारभूत विद्यालय, आगरनेटा रहेका छन् ।