काठमाडौँ, माघ २ गते । नेपाल कम्युनिस्ट पार्टी (एमाले)को संशोधित विधानअनुसार गठित राजधानी विशेष कमिटीको आज घोषणा गरिएको छ ।
आज आयोजित कार्यक्रममा सो पार्टीका अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा सो कमिटीको घोषणासहित आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको विशेष अभियान सुरु भइसकेको छ ।
एमालेको गत भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदावरीमा सम्पन्न दोस्रो विधान महाधिवेशनले काठमाडौँ उपत्यकालगायत जिल्ला कमिटीलाई समेटेर प्रदेशस्तरको सङ्गठन कमिटी गठनको व्यवस्था गरेको थियो ।
उक्त व्यवस्थानुसार एमालेको यही पुस २२ गतेको सचिवालय बैठकले नारायण सिलवाल (काठमाडौँ)को नेतृत्वमा पदाधिकारी तोकेको थियो ।
कमिटीको पदाधिकारीमा उपाध्यक्ष प्रेम महर्जन (ललितपुर), सचिव मिलन धरेल (उपत्यका विशेष), उपसचिवद्वय शशिजङ्ग थापा (भक्तपुर) र वेलिमाया घले (काठमाडौँ) रहनुभएको छ । सो कमिटीको इञ्चार्जमा पार्टीका सचिव डा राजन भट्टराई तोकिनुभएको छ ।रासस