• २ माघ २०८२, शुक्रबार

कपिलवस्तु कारागार जीर्ण बन्दै गएपछि जोखिममा कैदीबन्दी

blog

कारागार कार्यालय कपिलवस्तुको जीर्ण बन्दै गएको पर्खाल । तस्बिर : नारद कोहार

नारद कोहार

तौलिहवा(कपिलबस्तु), माघ २ गते । कपिलवस्तु कारागार कार्यालय जीर्ण बन्दै गएपछि कैदीबन्दीहरु जोखिममा परेका छन् । कारागारको ब्लक नम्बर १ को उत्तरतर्फ रहेको पर्खाल जीर्ण बन्दै गएपछि कैदीबन्दीहरु जोखिममा परेका हुन् । लामो समयदेखि मर्मतसम्भार नहुँदा पर्खाल ढल्किसकेको छ भने जुनसुकै बेला दुर्घटना हुन सक्ने अवस्था देखिएको छ ।

वि.स. १९९५ मा निर्माण गरिएको उक्त कारागार भवन अहिलेसम्म पर्याप्त मर्मतसम्भार हुन नसकेको कारागार कार्यालयले जनाएको छ । विशेषगरी उत्तरतर्फको पर्खाल कमजोर भइसकेको र संरचनागत रूपमा असुरक्षित बन्दै गएको हो ।

कपिलवस्तु कारागार कार्यालयका प्रमुख दलबहादुर बस्नेतका अनुसार सीमित बजेटका कारण तत्काल मर्मतसम्भार गर्न कठिन भएको छ । “थोरै बजेटले ठूलो संरचनाको मर्मत सम्भव छैन,” उहाँले भन्नुभयो । प्रमुख बस्नेतका अनुसार मर्मतसम्भरको विषयमा कारागार विभाग, प्रदेश सरकारको आन्तरिक मामिला मन्त्रालयलगायत सम्बन्धित निकायमा बजेट माग गरिएको भएपनि हालसम्म आवश्यक रकम उपलब्ध हुन सकेको छैन् ।

कारागारको भौतिक संरचना जीर्ण बन्दै जाँदा सुरक्षा चुनौती बढ्दै गएको छ । कारागार कार्यालय कपिलवस्तुमा हाल दुई वटा ब्लकहरु रहेका छन् । ब्लक नम्बर १ मा २ सय ६ कैदीबन्दी रहेका छन् । दुर्ब ब्लकमा जम्म तीन सय ८२ कैदीबन्दी रहेको कारागार प्रशासनले जनाएको छ ।