सिराज खान
नेपालगन्ज, माघ २ गते । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ का लागि शुक्रबार नेपालगन्जमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।
नेपालगन्जस्थित पशु सेवा तालिम केन्द्रमा सो मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको जिल्ला निर्वाचन, कार्यालय बाँकेले जनाएको छ । जिल्ला निर्वाचन कार्यालय बाँकेका प्रमुख टेकबहादुर शाहीले नेपालगन्जमा बाँकेका मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको जनाउँदै निर्वाचन कार्यालय स्थापनापछि निर्वाचनसम्वन्धि प्रक्रियाका सबै काम निर्वाचन अधिकृतको कार्यालयबाट सुरु भएको बताउनुभयो ।
बाँकेका मुख्य निर्वाचन अधिकृत दीपककुमार दाहालले बाँके क्षेत्र १ को निर्वाचन अधिकृतको कार्यालय राप्तीसोनारी गाउँपालिकाको कार्यालय भवन अगैयामा, क्षेत्र नम्बर २ को पशुसेवा कार्यालय नेपालगन्जमा र निर्वाचन क्षेत्र ३ को कपास विकास समिति खजुरामा स्थापना गरिएको जानकारी दिनुभयो ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना कार्यक्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङ, प्रहरी प्रमुख प्रहरी उपरीक्षक अङ्गुर जिसी, शसस्त्र प्रहरी उपरीक्षक शोभाकान्त खनाल र राष्ट्रिय अनुसन्धानका अनुसन्धान निर्देशक हरिश विष्ट लगायतको उपस्थिति थियो ।
तीन निर्वाचन क्षेत्र रहेको बाँकेमा यस पटक तीन लाख ५१ हजार ४३९ जना मतदाता संख्या पुगेको जिल्ला निर्वाचन कार्यालय बाँकेले जनाएको छ । निर्वाचन क्षेत्र नम्बर १ मा एक लाख २१ हजार ५३१, क्षेत्र नम्बर दुईमा ९८ हजार ५१२ र क्षेत्र नम्बर ३ मा एक लाख १३ हजार ८९१ मतदाता रहेका छन् । बाँकेमा १३९ मतदान स्थल र ४०० मतदान केन्द्र रहेको पनि जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।