• २ माघ २०८२, शुक्रबार

तनहुँमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

blog

तनहुँमा स्थापना गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय । तस्बिर : अमरराज नहर्की

अमरराज नहर्की

तनहुँ, माघ २ गते । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य उपनिर्वाचनका लागि तनहुँमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । जिल्ला निर्वाचन कार्यालयसँगै रहेको एकीकृत सेवा कार्यालयको भवनमा शुक्रबार एक कार्यक्रमका बीच कार्यालयको उद्घाटन गरिएको हो ।

न्यायपरिषद्को सिफारिसमा निर्वाचन आयोगले तनहुँ जिल्ला अदालतका न्यायाधीश विष्णुप्रसाद उपाध्यायलाई मुख्य निर्वाचन अधिकृत तोकेको छ । कार्यालय उद्घाटनको अवसरमा जिल्लास्थित विभिन्न राजनीतिक दलका प्रतिनिधि, सुरक्षा निकायका प्रमुखहरू तथा सरोकारवालाहरूको उल्लेख्य सहभागिता थियो ।

कार्यालय उद्घाटन पश्चात् आयोजित संक्षिप्त कार्यक्रममा बोल्दै मुख्य निर्वाचन अधिकृत उपाध्यायले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन आफू प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “निर्वाचन लोकतन्त्रको प्राण हो, यसलाई मर्यादित बनाउन मुख्य निर्वाचन अधिकृतको कार्यालयले पूर्ण निष्पक्षताका साथ काम गर्नेछ, निर्वाचन सफल पार्न राजनीतिक दल, नागरिक समाज र आम मतदाताको रचनात्मक सहयोगको अपेक्षा गर्दछु ।’’

उपाध्यायले निर्वाचन कार्यतालिका अनुसार नै मनोनयन दर्तादेखि मतदान र मतगणनासम्मका प्रक्रियाहरू पारदर्शी ढङ्गले अगाडि बढाइने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो । जिल्ला निर्वाचन कार्यालयले निर्वाचनका लागि आवश्यक तयारी तीव्र पारिएको जनाएको छ ।

यसैगरी आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तनहुँ जिल्लामा महिला मतदाताको सङ्ख्या पुरुषभन्दा बढी देखिएको छ । जिल्लामा कायम कुल दुई लाख ५४ हजार तीन सय ९७ मतदातामध्ये एक लाख ३० हजार नौ सय ६ जना महिला रहेका छन् भने पुरुष मतदाता एक लाख २३ हजार चार सय ९१ जना मात्र छन् । यस आधारमा तनहुँमा महिला मतदाताको हिस्सा करिब ५१.५ प्रतिशत पुगेको छ ।

जिल्लाका दश वटै पालिकामा महिला मतदाता बढी रहेको जिल्ला निर्वाचन कार्यालय तनहुँले जनाएको छ । जिल्ला निर्वाचन अधिकारी विकास लम्सालका अनुसार पालिकामध्ये सबैभन्दा धेरै मतदाता व्यास नगरपालिकामा र सबैभन्दा कम देवघाट गाउँपालिकामा रहेका छन् । व्यास नगरपालिकामा ५१ हजार तीन सय ६, भानु नगरपालिकामा ४२ हजार एक सय ४, शुक्लागण्डकी नगरपालिकामा ४० हजार तीन सय ५ र भीमाद नगरपालिकामा २५ हजार तीन सय ११ मतदाता कायम छन् ।

त्यसैगरी आँबुखैरेनी गाउँपालिकामा १४ हजार ६२, देवघाट गाउँपालिकामा १२ हजार छ सय ४४, बन्दीपुर गाउँपालिकामा १६ हजार २, ऋषिङ गाउँपालिकामा १८ हजार सात सय ४४, घिरिङ गाउँपालिकामा १४ हजार छ सय १३ र म्याग्दे गाउँपालिकामा १९ हजार तीन सय ६ मतदाता छन् ।

दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये क्षेत्र नम्बर २ मा मतदाता बढी छन् ।  क्षेत्र नम्बर १ मा पुरुष ६१ हजार ७७८ र महिला ६५ हजार एक सय चार गरी एक लाख २६ हजार आठ सय ८२ छन् ।  क्षेत्र नम्बर २ मा पुरुष ६१ हजार सात सय १३ र महिला ६५ हजार आठ सय दुइ गरी एक लाख २७ हजार पाँच सय ५४  मतदाता छन् । 

क्षेत्र नम्बर १ अन्तर्गत पालिकाहरु व्यास, भानु, बन्दीपुर, आँबुखैरेनी र देवघाट पर्दछन् भने क्षेत्र नम्बर २ अन्तर्गत शुक्लागण्डकी, भीमाद, म्याग्दे, ऋषिङ र घिरिङ पर्दछन् । आगामी निर्वाचनलाई सहज र व्यवस्थित बनाउने उद्देश्यले जिल्लामा दुई नयाँ मतदान केन्द्र थपिएका छन् । 

प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा बसेको मतदानस्थल तथा मतदान केन्द्र सिफारिस समितिको निर्णयअनुसार ऋषिङ गाउँपालिका–४ स्थित पद्मज्योति आधारभूत विद्यालय र ऋषिङ गाउँपालिका–६ स्थित धर्म आधारभूत विद्यालयमा थप मतदान केन्द्र थपिएको हो । दुवै वडामा मतदाताको पहुँच र भीड व्यवस्थापनले गर्दा अतिरिक्त मतदान केन्द्र आवश्यक देखिएको हो । हाल तनहुँका दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा मतदान स्थल १४४ र तीन सय नौ मतदान केन्द्र रहेको कार्यालयले जनाएको छ ।

जिल्लाभर तीन सय नौ मतदान केन्द्र तोकिएका छन् । ऋषिङ गाउँपालिका–४ र ६ मा मतदाता चाप बढेपछि एक–एक मतदान केन्द्र थप गरिएको निर्वाचन अधिकारी लम्सालले बताउनुभयो । मतदाता नामावली दर्ता अभियानमार्फत यस पटक सात हजार तीन सय ९३ नयाँ मतदाता थपिएका छन् ।