अमरराज नहर्की
तनहुँ, माघ २ गते । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई सुरक्षित, निष्पक्ष र व्यवस्थित रूपमा सम्पन्न गर्न तनहुँ जिल्लामा ‘निर्वाचन प्रहरी’ भर्ना प्रक्रिया सुरु गरिएको छ । सरकारले देशभर निर्वाचन सुरक्षाका लागि जनशक्ति परिचालन गर्ने नीति अनुरुप तनहुँका लागि एक हजार ७५२ जनाको कोटा निर्धारण गरी दरखास्त आह्वान गरेको हो ।
जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकका अनुसार इच्छुक नेपाली नागरिकले पुस २५ देखि माघ १ गतेसम्म आवेदन दिन सक्नेछन् । दरखास्त बुझाउनका लागि जिल्ला प्रहरी कार्यालय तनहुँ र सशस्त्र प्रहरी बल नेपाल नं. २३ गण हेडक्वाटर, मनकामना–भानुलाई केन्द्र तोकिएको छ ।
‘नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल नेपाल कार्यविधि २०८२’ बमोजिम भर्ना प्रक्रिया अगाडि बढाइने जानकारी दिँदै सूचना अधिकारी विकले सुरक्षाको संवेदनशीलतालाई ध्यानमा राखेर योग्य र दक्ष व्यक्तिहरूलाई छनोट गरिने बताउनुभयो ।
यस पटकको निर्वाचनमा सुरक्षा व्यवस्थालाई थप सुदृढ बनाउन पूर्व सुरक्षाकर्मी र अनुभवीहरूलाई प्राथमिकता दिइने प्रहरी नायब उपरीक्षक विकले जानकारी दिनुभयो । उहाँका अनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाबाट अवकाश प्राप्त कर्मचारी, विदेशी फौजमा काम गरी फर्किएका व्यक्ति र अघिल्ला निर्वाचनमा सुरक्षा सहयोगीका रूपमा काम गरिसकेका अनुभवीहरूलाई छनोटमा विशेष महत्त्व दिइनेछ ।
त्यस्तै, २०८२ पुससम्म सुरक्षा निकायको भर्ना प्रक्रियामा सहभागी भएका उम्मेदवारहरूलाई पनि यसमा प्राथमिकता दिइने कार्यालयले जनाएको छ ।
योग्यताको मापदण्डबारे प्रष्ट पार्दै सूचना अधिकारी विकले पुरुषको उचाइ न्यूनतम ५ फिट २ इञ्च र महिलाको ४ फिट १० इञ्च हुनुपर्ने जानकारी दिनुभयो । दरखास्त दिने आवेदकहरूको छनोट प्रक्रिया आगामी माघ ९ गतेभित्र सम्पन्न गरिने र सफल उम्मेदवारहरूको तालिम माघ १५ गतेदेखि सुरु हुने कार्यतालिका रहेको छ ।