• २ माघ २०८२, शुक्रबार

तिङ्कर नाका नियमित गर्न आग्रह

blog

खलङ्गा समाचारदाता

खलङ्गा (दार्चुला), माघ २ गते । नेपाल–चीन (तिब्बत) सीमामा पर्ने दार्चुलाको तिङ्कर नाकालाई नियमित रूपमा सञ्चालनका लागि पहल गरिदिन दार्चुलाको व्यास गाउँपालिका–१ का जनप्रतिनिधिले नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएका छन् । 

यहाँका जनप्रतिनिधि र स्थानीयले ओलीको भक्तपुर निवासमा पुगेर ज्ञापनपत्र बुझाएका हुन् । दार्चुला–चीन (तिब्बत) सिमानामा अवस्थित तिङ्कर नाका कोभिड महामारीको समयदेखि अनियमित भएको छ । कहिले सञ्चालन हुने कहिले नहुने अवस्था छ । त्यसलाई स्थायी रूपमा सञ्चालन गर्नका लागि पहल गर्न पूर्वप्रधानमन्त्री ओलीलाई आग्रह गरेका छन् । परापूर्वकालदेखि नै दार्चुलावासीको व्यापारमार्गका रूपमा यो नाका हाल सुचारु नहुँदा दैनिक व्यवहार गर्न पनि असहज भइरहेको भन्दै नियमित सञ्चालनका लागि पहल गरिदिन निवेदन बुझाएका हुन् । 

व्यास गाउँपालिका–१ का वडाध्यक्ष अशोकसिंह बोहोराका अनुसार स्थानीय समुदाय र व्यापारिक गतिविधिका लागि नाकाको नियमित सञ्चालनले व्यापार, श्रम, सांस्कृतिक आदानप्रदान र सामाजिक समृद्धिमा विशेष योगदान पु-याउने विश्वास गरिएको छ । निवेदनमा सुरक्षा र दुईपक्षीय सहमतिको पूर्णतालाई ध्यान दिँदै तिङ्कर नाकालाई साबिक झैँ सहज रूपमा खुला गर्न चीनसँग समन्वय गरिदिन भनिएको छ ।