पुरुषोत्तम सुवेदी
पश्चिम नवलपरासी, माघ २ गते । पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–१४, पर्सावलमा पर्यटकीय पूर्वाधार विकासको नयाँ अभियान सुरु भएको छ । लुम्बिनी प्रदेश सरकार र रामग्राम नगरपालिकाको संयुक्त आर्थिक लगानीमा जिल्लाकै पहिलो होमस्टे (घरबास) निर्माण कार्यको औपचारिक थालनी गरिएको हो ।
होमस्टेका लागि आवश्यक सांस्कृतिक भवनको निर्माण कार्यको थालनी गरिएको छ । यस परियोजनाले स्थानीय कला, संस्कृतिको संरक्षण गर्दै पर्सावललाई पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्ने लक्ष्य राखेको छ ।
नगर प्रमुख धनपत यादवले होमस्टे निर्माणले नगरको पहिचान बदल्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “पर्सावलमा सुरु भएको यो होमस्टे जिल्लाकै गौरवको योजना हो । यसले यहाँको मौलिक कला र संस्कृतिलाई विश्वमाझ चिनाउन मद्दत गर्नेछ । स्थानीय बासिन्दाको आयआर्जन बढाउन र रोजगारी सिर्जना गर्न नगरपालिकाले यस आयोजनालाई उच्च प्राथमिकतामा राखेको छ ।’’
त्यसैगरी, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भूपलाल (भूपेन्द्र) पाण्डेयले योजनालाई समयमै सम्पन्न गर्न प्रशासनिक तत्परता देखाउनुभयो । उहाँले भन्नुभयो, “हामीले होमस्टे निर्माणसँगै हडहिया पोखरीको सौन्दर्यकरण र संरक्षणलाई पनि सँगसँगै अगाडि बढाएका छौँ । यो एकीकृत विकासले पर्यटकहरूलाई थप आकर्षित गर्नेछ । गुणस्तरीय निर्माण र निर्धारित समयभित्रै काम सक्नु हाम्रो मुख्य लक्ष्य हो ।’’
होमस्टे निर्माण समितिका दीपकराज चौधरीका अनुसार यस परियोजनाले स्थानीय समुदायमा नयाँ उत्साह थपेको छ । पर्यटकीय चहलपहल बढ्दा स्थानीय उत्पादनले बजार पाउने र रैथाने खानपानको प्रवर्धन हुनेमा उनीहरू ढुक्क छन् ।
परियोजनाका मुख्य आकर्षणहरूमा सांस्कृतिक भवनः जहाँ स्थानीय झाँकी, नाच र कला प्रदर्शनी गरिनेछ । हडहिया पोखरीः पोखरीको सौन्दर्यकरण गरी घुमघाम र विश्रामका लागि आकर्षक बनाइने र रैथाने स्वादः पर्यटकहरूले स्थानीय मौलिक परिकारको स्वाद लिन पाउनेछन् ।
समयमै काम सम्पन्न भएमा पर्सावल छिट्टै नै बाह्य र आन्तरिक पर्यटकका लागि प्रमुख रोजाइको स्थल बन्ने देखिन्छ । यसले स्थानीयको आर्थिक स्रोतलाई बलियो बनाउँदै आत्मनिर्भरता तर्फ लैजाने अपेक्षा गरिएको छ ।