• २ माघ २०८२, शुक्रबार

नेपाली सेनाले गर्‍यो थारु खाना र सामग्री प्रदर्शनी

blog

नेपाली सेना सैनिक अड्डाका प्रवन्ध रथी उपरथी हरेन्द्र पाठक साँस्कृतिक कार्यक्रमको उद्घाटन गर्नुहुँदै साथमा गणका गणपति प्रमुख सेनानी दिनेश लामा । तस्बिर : वसन्त पराजुली

वसन्त पराजुली 
नारायणगढ, माघ २ गते ।
नेपाली सेनाको नयाँ सबुज गणको आयोजनामा माघी पर्वको अवसरमा बिहीबार साझ भरतपुरमा थारु सामग्री तथा मौलिक खानाहरु प्रदर्शनी गरेको छ । नेपाली सेनामा तराईवासीहरुको बाहुल्य रहेको यो गणले प्रदर्शनीसँगै थारु साँस्कृतिक कार्यक्रम पनि आयोजा गरेको थियो ।

माघी नेपालमा बसोवास गर्ने थारु समुदायले मनाउने चाड हो । विशेष त यो चाड पश्चिम नेपालमा धुमधामका साथ मनाउने गरिन्छ । सेनाले थारुको मौलिकता दिने गरी नै यो कार्यक्रम आयोजना गरेको थियो ।

कार्यक्रमको नेपाली सेना मध्य पृतना हेटौँडाका पृतनापति उपरथी विष्णुकुमार खड्का र नेपाली सेना सैनिक अड्डाका प्रवन्ध रथी उपरथी हरेन्द्र पाठकले संयुक्त रुपमा उद्घाटन गर्नुभएको थियो ।

कार्यक्रममा सांस्कृतिक कार्यक्रमअन्तर्गत थारुहरुको माघी रे माघी रे, हर साल आइ माघी, झुमरा नृत्य, लाठी नाच, सखिया नृत्य, मघौटा नाच जस्ता नृत्यहरु प्रस्तुत गरिएको थियो । सो अवसरमा थारु खानाहरु गंगटा, माछा, धानचरी, सिपी, हाँसको छोइला, परेवाको मासु, वट्टाई  लगायतका परिकार प्रदर्शनीमा राखिएको थियो । कार्यक्रममा थारुले नियमित प्रयोगमा ल्याउने घरेलु समानहरु चकियाँ (जाँतो) टेक्नी (लौरौ), माछा मार्ने जाल, खराउ, ढकिया, ढकली जस्ता सामाग्रीहरु प्रदर्शनीमा राखिएको थियो ।

कार्यक्रममा बोल्दै गणका गणपति प्रमुख सेनानी दिनेश लामाले विभिन्न जातजातीको विविधताले भरिएको नेपालमा थारुहरुको आफ्नै महत्त्व र ईतिहास भएकाले उनिहरुको मौलिक पर्वको सांस्कृतिक महत्व जोगाई राख्न कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।

“नेपाल विभिन्न जातजाती भाषा धर्ममा विविधतामा एकता भएको देश हो । यसमा थारुहरु तराईमा वस्ने मुख्य जाति भएकाले उनिहरुको आफ्नै धर्म संस्कृति छन् त्यसलाई संरक्षण गर्नुपर्ने दायित्व हामी सवैको हो”, उहाँले भन्नुभयो ।