जनार्जन खत्री
सर्लाही, माघ २ गते । निर्वाचनका लागि आवश्यक ३७ प्रकारका सामग्री खरिद गर्न जिल्ला निर्वाचन कार्यालय सर्लाहीले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय जनकपुरसँग सरकार–सरकार (जी–टु–जी) प्रणालीमार्फत सम्झौता गरेको छ ।
सर्लाहीका जिल्ला निर्वाचन अधिकारी ऋषिराम पौडेलले कम्पनीका प्रतिनिधिसँग निर्वाचन सामग्री खरिदसम्बन्धी औपचारिक सम्झौतामा हस्ताक्षर गर्नुभएको हो । फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारी तीव्र रूपमा अघि बढिरहेको सन्दर्भमा सामग्री खरिदलाई मितव्ययी, पारदर्शी र प्रभावकारी बनाउने उद्देश्यले सरकारी निकायसँग सोझै सम्झौता गरिएको जिल्ला निर्वाचन अधिकारी पौडेलको भनाइ छ ।
उहाँले अनेक झन्झट नगरी छिटो बन्दोबस्त गरिसक्ने र मितव्ययी निर्वाचन सम्पन्न गर्ने लक्ष्यसहित सरकारी दररेटमै सामग्री खरिद गर्न जी–टु–जी प्रक्रियामा गएको जानकारी दिनुभयो । अन्य केही जिल्लाहरूले पनि यही अभ्यास अपनाएर सरकारी दररेटमै निर्वाचन सामग्री खरिद गर्ने तयारी गरिएको छ ।
निर्वाचनका लागि अनुसूची फाराम, पुस पिन, डायरी, मारकर पेन, स्केल, स्टेपलर मेसिन तथा पिन, कैँची, ग्लु–स्टिक, सोसर, पञ्चिङ मेसिन, परिचयपत्र कार्ड होल्डर तथा डोरी, विभिन्न प्रकारका कार्ड, टेप, खाम, कागज, धागो, सियो, खापसियो, कपडा, सलाई, जेलपेन, मैनबत्तीलगायतका सामग्री आवश्यक पर्ने गर्छन् । यसअघि यस्ता सामग्री निर्वाचन आयोगले केन्द्रबाटै एकमुष्ट खरिद गरी जिल्लामा पठाउने गरेको थियो ।
यस पटक भने ती सामग्री खरिदको जिम्मेवारी सम्बन्धित जिल्ला निर्वाचन कार्यालयलाई नै दिइएको छ । निर्वाचन आयोगबाट प्राप्त हुने केही सामग्री आफू काठमाडौँ गएर ल्याइसकेको जिल्ला निर्वाचन अधिकारी पौडेलको भनाइ छ ।
यसअघि आयोगमार्फत एकमुष्ट खरिद गर्दा कमिसन र ढुवानी खर्चका कारण सामग्री महँगो पर्नुका साथै प्रक्रिया झन्झटिलो हुने गरेको गुनासो रहँदै आएको थियो । यस पटक भने त्यस्ता अभ्यासलाई नियन्त्रण गर्ने उद्देश्यसहित सर्लाहीसहित केही जिल्लाले सरकारी निकायसँगै जी–टु–जी सम्झौता गरी मितव्ययी खरिदको नमूना प्रस्तुत गरेका छन् ।