शालिग्राम नेपाल ।
चितवन, माघ २ गते । जेनजीको आन्दोलनपछि कार्यालयको अभावमा कष्टका साथ काम गर्दै आएको भरतपुर महानगरपालिका अत्याधुनिक नवनिर्मित भवनबाट काम गर्ने भएको छ ।
नयाँ निर्माण भएको आधुनिक भवनबाट शुक्रबारबाट काम सुरु गरिने महानगरका सहरी पूर्वाधार विकास महाशाखा प्रमुख, वरिष्ठ डिभिजनल इन्जिनियर सन्तोष आचार्यले जानकारी दिनुभयो । यही माघ १८ गर्ते निर्माण पूरा गर्ने समय भए पनि अहिले नै भवनको निर्माण सकेर रङरोकन पनि सकेकाले त्यही नयाँ भवनबाट काम सुरु गर्ने तयारी भएको बताउनुभयो ।
भवनको उद्घाटन गरी महानगर प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृतसहितको कार्यकक्ष सञ्चालन हुने उहाले जानकारी दिनुभयो । चार तले प्रशासकीय भवन निर्माण निर्माण पूरा भए पनि भित्रको फर्निचरका लागि भने टेण्डर आह्वान गरी काम गर्नु पर्ने उहाले बताउनुभयो ।
‘‘नयाँ भवन भित्री डिजाइनको काम बाँकी रहेको छ । जलेका कारण साघुरो स्थानमा बसेर काम गर्न असजिलो भएको छ,’’ उहाँले भन्नुभयो, ‘‘भवन निर्माण भइसकेको छ । त्यसैले त्यही नयाँ भवनमा व्यवस्थापन गरेर काम गर्ने तयारी अनुसार उद्घाटन गर्न लागेको हो ।’’
चारमध्ये दुई तला सम्पन्न गरेर आज बिहान एक समारोहका बिच नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने तयारी छ ।
‘सिंहदरबार’ जस्तै देखिन भवनमा महानगरको सबै विभाग अटाउने छ । अहिले विभिन्न स्थानमा छरिएर कार्यालय सञ्चालन हुँदै आएको छ । प्रशासकीय भवन ५३ करोड ३२ लाख ६४ हजार रुपियाँ लागतमा निर्माण भएको इन्जिनिएर आचार्यले जानकारी दिनुभयो । संघ, प्रदेश र महानगरको समेत गरेर तीनै तहको सरकारले बजेट विनियोजन गरेको प्रशासकीय भवनको निर्माण सम्झौता २०७९ साउन १८ गते भएको थियो । इन्जिनियर आचार्यका अनुसार बाँकी तलाको टायल मार्वल लगाइ सकिए पनि फर्निसिङको काम भने बाँकी नै रहेको छ ।
क्लासिकल डिजाइनमा निर्माण गरिएको चार तले भवनमा दुई वटा ठुला सभाहल, ८ वटा मिटिङ कक्ष र एक सय ५८ वटा कार्यकक्ष रहेको छ । कुल ७ कठ्ठा क्षेत्रफलमा निर्माण भएको भवनको एउटा सिङगल बेसमेन्ट रहेको छ ।
जसमा ५० वटा गाडी र एक सय ५० वटा मोटरसाइकल अट्ने क्षमता रहेको छ । दुईवटा लिफ्ट र दुबैतर्फ आकस्मिक भर्याङसहित निर्माण गरिएको भवन अपाङ्गता मैत्री निर्माण भएको छ । सबै महाशाखाको सेवा दिन सकिने गरी निर्माण गरिएको भवनमा नागरिक कक्ष, पुस्तकालय तथा स्तनपान कक्ष समेत रहनेगरी डिजाइन गरिएको उहाले जानकारी दिनुभयो ।
सेन्ट्रल एसी जडान गरिएको अत्याधुनिक भवनमा भूँइतलामा नगरप्रमुख र पहिलो तलामा उपप्रमुखको कार्यकक्ष निर्माण गरिएको छ ।