• २ माघ २०८२, शुक्रबार

रुरु मेलामा जेट बोटको आकर्षण

blog

रुरु धाममा सञ्चालन भएको जेट बोट । तस्बिर : टोपलाल अर्याल

टोपलाल अर्याल
रेसुङ्गा(गुल्मी), माघ २ गते ।
गुल्मी, पाल्पा र स्याङ्जाको सङ्गम स्थल रिडीमा लाग्ने रुरु मेलामा जेट बोटको आकर्षण देखिएको छ । मङ्गलबार पहिलो दिननै तीन घण्टामा ६८३ जनाले टिकट लिएर जेट बोट चढेका छन् । रुरु क्षेत्रका स्थानीय नौ युवाहरूले एक करोड लगानीमा रिडीमा खोला थुनेर ताल निर्माण गरेर जेट बोट सञ्चालन गरेका छन् ।

माघे सङ्क्रान्ति मेलाबाटै जेट बोट चलाउने योजनाका साथ तिव्र रुपमा काम अगाडी बढेको थियो । रिडी पुलदेखि तीनमुखे पुलसम्म नदीलाई थुनेर ताल निर्माण गरिएको छ । अहिलेलाई अस्थायी रुपमा ताल निर्माण भएको छ । आगामी जेठसम्म ११ जना राख्न मिल्ने क्षमताका दुई जेट बोट सञ्चालन गरिएको रिडि ताल एडभेन्चर प्रालिका अध्यक्ष रबिलाल पन्थले बताउनुभयो ।

आगामी वर्ष आरसीसी बाँधसहित स्थायी ताल बनाउने योजना रहेको छ । अहिले तालको ३०० मिटर लम्बाई, चौडाइ ६० मिटर र गहिराइ तीन मिटर रहेको छ । तालको बारेमा वातवरणीय प्रभाव मूल्याङ्कलन समेत अगाडी बढेको बताउनुभयो । उहाँले रुरुक्षेत्रकै पर्यटकीय आकर्षणलाई बढाउन नयाँ काम अगाडि बढेको पन्थले बताउनुभयो ।गुल्मी, पाल्पा र स्याङजाको सङ्गम स्थलमा रहेको रुरु धाम प्रसिद्ध धार्मिक क्षेत्र हो ।

कालिगण्डकी स्नान र क्रृषिकेश मन्दिरको दर्शन गर्न आउने धार्मिक पर्यटकहरुले दिन खाली हुँदैन् । विशेष गरेर माघे सक्रान्तिमा स्वदेशका विभिन्न ठाउँ र भारतबाट समेत रुरु धाममा निकै धेरै धार्मिक पर्यटक आउने गर्दछन् । रुरु धामलाई पछिल्लो समय धार्मिक तथा पर्यटकीय दृष्टिकोणले समेत अगाडी बढाइएको छ । देशमा मुख्य कालिगण्डकी र मदनभण्डारी राजमार्गलाई रुरुक्षेत्रले जोडेको छ ।

रुरु धाममै नेपालकै पहिलो र नमुना विशाल तीन मुखे पुल निर्माण गरिएको छ । गुल्मीको रुरुक्षेत्र–१ रिडी, स्याङजाको कालिगण्डकी गाउँपालिका–१ चण्डिभञ्ज्याङ र पाल्पाको तानसेन नगरपालिका १४ अर्गली  जोडेको छ । मुख्य दुई ठुला राजमार्ग, रुरु धाम, तीनमुखे पुल, क्रृषिकेष मन्दिर, हनुमान बाटिकासहितका संरचनाले स्थानीय नागरिकमा उत्साह र बाह्य पर्यटकको सङ्ख्या बढेको रुरुक्षेत्र गाउँपालिका–१ रिडीका युवा व्यवसायी सुन्दर कसजुले बताउनुभयो ।

अहिले व्यावसायीक गतिविधिहरु पनि बढिरहेका छन् । कालिगण्डकी करिडोरले रुरु धामसँग लुम्बिनी पाल्पाको रानीमहलदेखि मुस्ताङ जोडेको  छ । जसका कारण रिडी क्षेत्रमा स्तरिय होटलहरु सञ्चालन भइरहेका छन् । स्याङजा क्षेत्र जनजाती र कला संस्कृतिको हिसाबले महत्त्वपूर्ण भएकाले पर्यटक बढ्दै जाँदा होमस्टे सञ्चालनबाट आर्थिक समृद्धि गर्न सक्ने प्रसस्त सम्भावना रहेको छ ।

रुरुक्षेत्र गाउँपालिका प्रमुख यदु ज्ञवालीले तालको वैधानिक विषयमा आफुहरु अनविज्ञ रहेकाले अहिलेलाई व्यक्तिगत लागनीमा अस्थायी संरचना निर्माण भइरहेको बताउनुभयो ।

उहाँले युवाहरुको कामले शाहसीक खेल मार्फत पर्यटन प्रवर्धन हुने भएकाले स्थायी काम र कानुनी विषयबारे छलफल हुने बताउनुभयो । रुरु धाम नजिकै रुरुक्षेत्र गाउँपालिका र स्याङ्जाको कालिगण्डकी गाउँपालिका जोड्ने गरेर जीपलाइन निर्माणको सम्झौता भएको छ । केही जग्गा र सञ्चालनको योजनाको बारेमा गृहकार्य भइरहेको ज्ञवालीले बताउनुभयो ।