• २ माघ २०८२, शुक्रबार

बाँझो जग्गामा खेती गर्नेलाई तीन हजार

blog

फेदीखोला गाउँपालिका । तस्बिर :अर्जुन काफ्ले

अर्जुन काफ्ले
स्याङ्जा, माघ २ गते ।
फेदीखोला गाउँपालिकाले गाउँघरमा बाँझो रहेका जग्गाको सदुपयोग गर्दै कृषि उत्पादन बढाउने कृषकलाई प्रोत्साहन रकम दिने भएको छ ।

गाउँपालिकाले प्राविधिकको सिफारिसका आधारमा बाँझो जग्गामा कफी तथा अलैंची खेती गर्ने किसानहरूलाई नगद अनुदान दिने भएको हो ।

गाउँपालिकाले लामो समयदेखि बाँझो रहेको जग्गामा खेती विस्तार गर्ने किसानले प्रतिरोपनी तीन हजारका दरले अनुदान प्राप्त गर्ने पालिका अध्यक्ष घनश्याम सुवेदीले बताउनुभयो ।

यस कार्यक्रमअन्तर्गत गाउँपालिकाले पहिलो चरणमा कुल ५०० रोपनी जग्गामा खेती विस्तार गर्ने लक्ष्य राखेको छ । बाँझो जमिनलाई उत्पादनसँग जोड्ने र किसानको आयस्तर उकास्ने उद्देश्यले यो कार्यक्रम ल्याइएको सुवेदीले बताउनुभयो ।

गाउँमा जग्गा बाँझो राखेर विदेशिनुपर्ने बाध्यताको अन्त्य गर्न र स्थानीय स्तरमै कृषि उद्यमशीलता विकास गर्न यो योजना अघि सारेका बताउदै सुवेदीले यसले कृषि उत्पादन वृद्धिमा टेवा पुर्‍याउने विश्वास लिएको बताउनुभयो ।

गाउँपालिकाले तोकेको मापदण्ड र प्राविधिकको राय अनुसार खेती गर्न चाहने इच्छुक कृषक वा कृषि फर्महरूले थप जानकारी तथा आवेदन प्रक्रियाका लागि फेदीखोला गाउँपालिकाको कृषि शाखामा सम्पर्क गर्न अनुरोध गरिएको छ ।