लिलाधर ओली
घोराही, माघ १ गते ।नेकपा (एमाले) का महासचिव शंकर पोख्रेलले देशमा निर्वाचन हुनेनहुने भन्ने अन्योल कायमै रहेको वर्तमान अवस्थामा प्रतिनिधिसभाको पुनःस्थापना नै सबैभन्दा स्पष्ट र सुरक्षित बाटो भएको बताउनुभएको छ।
प्रेस चौतारी दाङले बिहीबार घोराहीमा आयोजना गरेको पत्रकार भेटघाट तथा बधाई ज्ञापन कार्यक्रममा बोल्दै महासचिव पोख्रेलले सरकारले निर्वाचनको वातावरण बनाउन नसकेको र नेपाली कांग्रेसभित्र देखिएको आन्तरिक सङ्कटका कारण फागुन २१ गते तय गरिएको निर्वाचनप्रति आशङ्का उत्पन्न भएको बताउनुभयो।
उहाँले यस्तो परिस्थितिमा संसद् पुनःस्थापना नै उपयुक्त विकल्प भएको धारणा राख्नुभयो।सरकार निर्वाचनको तयारीतर्फ भन्दा अराजकता र लोकप्रियतावादलाई प्रोत्साहन गर्न उद्धत देखिएको आरोप लगाउँदै महासचिव पोख्रेलले रवि लामिछानेमाथि लागेको सङ्गठित अपराध तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा फिर्ता लिनेजस्ता गतिविधिले सरकार कहाँबाट र कसरी सञ्चालित भइरहेको छ भन्ने गम्भीर प्रश्न उठाएको बताउनुभयो।
नयाँ वैकल्पिक शक्तिका रूपमा आफूलाई स्थापित गर्न खोजेको राष्ट्रिय स्वतन्त्र पार्टीले कानुनी शासन र संवैधानिक सर्वोच्चतालाई स्वीकार गर्दै अघि बढ्नुपर्ने उहाँको भनाइ थियो।
नेपाली कांग्रेसभित्र देखिएको विवादले लोकतन्त्रमा गम्भीर असर पार्न सक्ने उल्लेख गर्दै पोख्रेलले यस्ता गतिविधिले निर्वाचनको वातावरण कमजोर बनाउने र गलत तत्वलाई फाइदा पुग्ने चेतावनी दिनुभयो।
साथै, समाजमा शान्ति र सुरक्षाको प्रत्याभूति अझै हुन नसक्नु चिन्ताजनक रहेको भन्दै लुटिएका हतियार सङ्कलन गर्ने, भगाइएका कैदी फिर्ता ल्याउने तथा प्रहरीको मनोबल उच्च बनाउने काममा सरकार गम्भीर हुनुपर्ने सुझाव दिनुभयो।
कार्यक्रममा प्रेस चौतारी दाङले एमाले महाधिवेशनबाट महासचिव निर्वाचित शंकर पोख्रेलसहित लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा एमाले केन्द्रीय सदस्य चेतनारायण आचार्य, केन्द्रीय सदस्य तथा घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरी, केन्द्रीय सदस्यहरू सुजिता शाक्य, मेनका पोखरेल, घनश्याम पाण्डे, कोमल वली तथा केन्द्रीय लेखा आयोग सदस्य रेवतीरमण शर्मालगायतलाई सम्मान गरेको थियो।