• १ माघ २०८२, बिहिबार

‘शान्तिसुरक्षाको प्रत्याभूति गर्नु प्रदेश सरकारको पहिलो प्राथमिकता हो’

blog

फाइल तस्बिर ।

बागमती, माघ १ गते ।बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले नागरिकलाई शान्तिसुरक्षाको प्रत्याभूति दिलाउनु प्रदेश सरकारको पहिलो प्राथमिकता भएको बताउनुभएको छ ।

प्रदेश सरकारको तर्फबाट बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडालाई आज मोटरसाइकल हस्तान्तरण गर्दै उहाँले प्रदेशको शान्तिसुरक्षालाई सुदृढ बनाउँदै नागरिकलाई पुर्ण रूपमा भयरहित वातावरणको प्रत्याभुति दिलाउन सरकार प्रयत्नशील रहेको बताउनुभयो ।

मुख्यमन्त्री बानियाँले शान्तिसुरक्षा सुदृढीकरण गर्दै छिटोछरितो सेवा प्रवाहलाई प्रभावकारी बनाउन प्रदेश सरकारले प्रहरीलाई आवश्यक साधनस्रोत उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

सवारीसाधनको अभावमा प्रहरीलाई सेवा प्रवाह तथा प्रहरी परिचालनलाई प्रभावकारी बनाउन नसकिएको अवस्थालाई मध्यनजर गरी मोटरसाइकल उपलब्ध गराइएको मुख्यमन्त्री बानियाँले बताउनुभयो ।

कार्यक्रममा मुख्यमन्त्री बानियाँले बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाका प्रमुख प्रहरी नायब महानिरीक्षक अरुण पौडेललाई ३० थान मोटरसाइकल हस्तान्तरण गर्नुभयो ।

सुरक्षा व्यवस्था सुदृढीकरण, छिटोछरितो सेवा प्रवाह तथा प्रहरी परिचालनलाई प्रभावकारी बनाउने उद्देश्यका साथ प्रदेश सरकारले  ९७ लाख २० हजार मूल्य बराबर मोटरसाइकल खरिद गरी प्रहरीलाई हस्तान्तरण उहाँले जानकारी दिनुभयो ।

राष्ट्रियस्तरबाट बोलपत्र आह्वान गरी प्रचलित कानुन तथा स्वीकृत मापदण्ड बमोजिम खरिद गरिएका मोटरसाइकल १६० सिसी क्षमताका एफआई र एबिएस प्रणालीयुक्त छन् ।

कार्यक्रममा बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङ, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय हेटौँडाका प्रमुख सचिव बाबुराम अधिकारीलगायत सुरक्षाकर्मीको उपस्थिति थियो । रासस